१५ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपति भण्डारीले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७७, शुक्रबार ०३:३१

काठमाडौं । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा दिउँसो दुई बजेपछि नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । काठमाडौँमा गएको आइतबारदेखि नै मेलम्चीको पानी वितरण शुरु गरिएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा पनि मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाएर आज विहानबाट वितरण थालिएको हो ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडले जानकारी दिएको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याइएकोमा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको लिमिटेडले जनाएको छ ।

पानीको मात्रा बढेसँगै लिमिटेडले वितरण गर्ने क्षेत्र पनि बढाइरहेको छ । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो ।

एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आएको र अर्को प्रशोधन केन्द्रको परीक्षण भएपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने लिमिटेडको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो ।

राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।