११ बैशाख २०८१, मंगलवार
Follow Us

नयाँ सरकार गठन गर्न छलफल अगाडि बढाउने प्रचण्डको उद्घोष

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७७, शनिबार ११:३७

काठमाडौं । नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नयाँ सरकार गठन हुने बताएका छन् । प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष समेत गरेका छन् । शनिबार कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका हुन् ।

नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने प्रचण्डको भनाई छ । कार्यक्रमा प्रचण्डले भने ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केहि दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’ उनले भने, ‘नयाँ परिस्थिति बन्ने छ । त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरे ।

‘मलाई साथीहरुले आज कपिलवस्तु नजानुहोस् । नयाँ सरकार गठनका लागि तपाईंले तुरुन्तै पहल लिनुपर्छ भन्नु भएको थियो । तर मैले भनेँ म आज कपिलवस्तु जानै पर्छ । म त्यहाँको जनता र साथीहरुलाई भनेर छिट्टै फर्किन्छु,’ प्रचण्डले भने ।

कार्यक्रममा उनले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी समेत गरे ।