१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतका व्यारिष्टरहरुको प्रकाशनमा प्राध्यापक सुवेदीको सफलताका कथा

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७७, शनिबार १६:४३

लन्डन । अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) को उचाईं नेपालीमाझमात्र होइन्, बेलायती समुदायमा पनि आकाशिंदो छ । उनी पछिल्लो पटक बेलायतका मूर्धन्य ब्यारिस्टरहरुको पंक्तिमा आफ्नो सफलताका कथासंगै झुल्किएका छन् ।

बेलायतको बार काउन्सिल (बार काउन्सिल अफ इंग्ल्याण्ड) को मासिक मुखपत्रले बेलायतको न्याय र कानूनी क्षेत्रका मूर्धन्य व्यक्तित्वहरुको योगदानवारे प्रकाश पार्दै यो महिना सुवेदीलाई पनि प्राथमिकता दिएको छ ।

बेलायतको न्याय र कानूनको क्षेत्रमा प्रखर व्यक्तित्वका रूपमा स्थापित बेलायतका भूतपूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रीभ (क्यूसी), भूतपूर्व न्यायाधिश व्यारोनेश हेदर हाल्लेट र प्रा डा सूर्य प्रसाद सुवेदी (क्यूसी) लाई प्रकाशनमा छनोट गरिएको छ । उक्त मुखपत्रमा प्रा सुवेदीको योगदानबारे अर्का एक व्यारिष्टरको लेख प्रकाशन गरिएको हो ।

उक्त पत्रिकाले प्रा सुवेदीलाई बेलायतको कानून क्षेत्रको ‘प्रेरणादायक’ व्यक्तित्वका रूपमा उनको योगदानको वर्णन गर्दै एक खोजपूर्ण लेख प्रकाशित गरेको छ ।

प्रा सुवेदी बेलायतका ब्यारिष्टर पनि हुन् र विभिन्न अन्तरराष्ट्रिय न्यायिक निकायमा उनले राष्ट्रहरुको तर्फबाट कानूनी प्रतिनिधित्व गरेका छन् । ‘काउन्सेल’ नाम भएको उक्त पत्रिकाले छापेको लेखमा प्रा सुवेदीले प्राज्ञिक तथा कानून व्यवसायको क्षेत्रमा दिएको योगदान र उनले मानव अधिकारको क्षेत्रमा गरेको कामको वर्णन गरिएको छ ।

‘कानूनी व्यक्तित्व – अन्तर्राष्टिय मानव अधिकार विधिबेत्ताः सूर्य सुवेदी क्यूसी’ शिर्षकमा उक्त लेख छापिएको छ । नेपालवाट एक विद्यार्थीको रूपमा बेलायत आएका प्रा सुवेदीले कसरी अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्दै कुइन्स् काउन्सेल जस्तो कानून व्यवसायको क्षेत्रको उच्च उपाधि समेत हासिल गर्न सफल भए भन्ने विवेचना गरिएको छ ।

उनको उपलब्धिहरुबाट अन्य कानून व्यवसायीहरु, व्यारिस्टरहरु र कानूनका विद्यार्थीहरुलाई प्रेरणा मिलोस भन्ने हेतुले उक्त लेख प्रकाशित गरिएको हो ।

बेलायतको प्रतिष्ठित राष्ट्रिय पेशागत संस्थाको पत्रिकाले आफ्नो योगदानलाई महत्व दिएर लेख छापेकोमा आफू गौरवान्नित भएको सुवेदीले बताए ।