१३ बैशाख २०८१, बिहीबार
Follow Us

फाइजरको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७७, आईतवार ०८:०२

काठमाडौं । कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।

किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप शतप्रतिशत प्रभावकारी देखिएको फाइजर–बायोएनटेकद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

फाइजर–बायोएनटेकको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै १६ वर्षदेखि माथिको उमेर समूहका व्यक्तिका लागि यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो । अध्ययनको क्रममा १२ देखि १५ वर्षसम्मका २२ सय ६० किशोर किशोरीमा गरिएको परीक्षणमा खोप सुरक्षित र संक्रमण रोक्न १०० प्रतिशत प्रभावकारी देखिएको हो ।

खोप लगाएका बालबालिका तथा किशोर किशोरीमा भाइरससँग लड्ने एन्टीबडीको विकास राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।