८ बैशाख २०८१, शनिबार
Follow Us

जसपाले कांग्रेस र माओवादीलाई साथ नदिने

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७७, सोमबार ०५:०२

काठमाडौं । सत्तासमीकरणका लागि जनता समाजवादी पार्टी जसपा) ले साथ दिने स्पष्ट सङ्केत नदेखाएपछि सरकार बनाउने तयारीमा लागेका कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन्। जसपाका नेता ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा नदेखिंदा कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । गत शुक्रवार कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो । कांग्रेसको यो निर्णयपछि माओवादी केन्द्र पनि उत्साहित बनेको थियो ।

जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने सङ्केत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलकै अवस्थामा छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए वैकल्पिक सरकार गठन गर्न कांग्रेसलाई जसपाको साथ चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् ।

नेकपा एमालेका १ सय २१ सांसद छन् । राप्रपा, जनमोर्चा र नेमकिपाका एक, एक जना सांसद छन् । कांग्रेसलाई गठबन्धनको सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवैको साथ चाहिन्छ । जसपाभित्र सत्ता समीकरणका विषयमा एकमत नहुँदासम्म वैकल्पिक सरकार गठन हुने सम्भावना देखिँदैन ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ । जसपाको साथ नपाएमा र आफ्नै पार्टीको नेपाल–खनाल पक्षले मत नदिए ओलीले बहुमत गुमाउनेछन ।

प्रधानमन्त्री केपी ओलीले यसबीचमा जसपालाई फुटाएर १७, १८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुर्याउने प्रयास गर्ने सम्भावना पनि छ । तर माओवादीले समर्थन फिर्ता नलिने र जसपाले कांग्रेस–माओवादीलाई साथ दिने निर्णय नगर्दासम्म ओली सरकारले नै निरन्तरता पाउने निश्चित छ ।