१२ बैशाख २०८१, बुधबार
Follow Us

माहुते मार्ने पाटेबाघ समातियो

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७७, सोमबार ०५:०८

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र हिजो बेलुका गैंडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैंडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बर्दियाबाट ५ वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ ।

भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो भने अर्को बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा राखिएको छ । त्यस्तै एउटा बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राखिएको छ भने अर्कोलाई बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

अर्को पाटेबाघ खोरको सरिया बङ्गाएर भागेको छ । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी गरिएको छ । गैंडा गणना गर्न गएको हात्तीका माहुते पुलिसराम चौधरीको हिजो बेलुका बर्दिया राष्ट्रिय निकुञ्जभित्र गैंडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।

यसअघि चैत ३ गते पनि यही क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै हुनसक्ने भनि नियन्त्रणमा लिएको हो ।