१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अहिलेसम्म कसैलाई समर्थन दिएका छैनौँ: राजेन्द्र महतो

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७७, सोमबार १२:२५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अहिलेसम्म कसैलाई पनि समर्थन नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै महतोले सरकार र अन्य पार्टीसँग कुरा भइरहेको बताए । “पार्टीले जे निर्णय गर्छ त्यसैमा अघि बढ्ने हो,” उनले भने “पहिलो कुरा हाम्रो मुद्दालाई कसले सम्बोधन गर्छ त्यसैलाई समर्थन गरिन्छ ।”

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णय एकलौटी भएको टिप्पणी गरे । जसपासँग कुनै सल्लाह नभएको भन्दै उनले कसैको एकल निर्णयमा टिप्पणी गर्न उपयुक्त नभएको बताए ।

“हामीसँग सल्लाह भएको भए राय सुझाव दिने होला,” महतोले भने,“कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाए बनाओस् न त । यो उसको आन्तरिक कुरा होला नि । सल्लाह गरेर उम्मेदवार बनाए भनेमात्र समर्थन गर्ने हो ।” आफूहरुसँग यसबारेमा सल्लाह नभएको भन्दै उनले यसमा आगामी दिनपछि छलफल हुने बाटो बाँकी रहेको बताए ।

“निकासको विषयमा सामूहिकरुपमा हाम्रो पार्टीसँग छलफल भएपछि एउटा दृष्टिकोण बनाउँछौँ,” उनले भने, “हामी आफ्ना माग र मुद्दाको विषयमा कुरा गर्छौँ ।” कुनै पक्षबाट प्रस्ताव आएपछि कोसँग जाने वा आफ्नै नेतृत्वमा बनाउने कुरा उनले गर्ने बताए ।