७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ बेल्जियम शाखामा ७ सदस्यीय कार्यसमिति चयन

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७७, मंगलवार २१:००

बेल्जियम । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम धिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्य समितिलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियताको शपथ गराए । उनले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको बताए । उनले अहिले सबैको हातहातमा स्मार्ट फोन रहेकाले मल्टीमिडियासंग परिचित हुन र आफ्नो सीप विकास गर्न सुझाव पनि दिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाकी सरस्वती कार्की, निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ बेलायतका महासचिव संजय कंडेल लगायतले शुभकामना दिँदै सबै पत्रकारहरु भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

शाखाका नवनिर्वाचित अध्यक्ष ओम शर्माले आगामी दिनमा सबै साथीहरुको साथ र सहयोग लिएर आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्यालले कार्यक्रम संचालन गरेका थिए।

गत फेव्रुअरी महिनाको पहिलो साता बेल्जियम शाखाको पहिलो अधिवेशन सम्पन्न भएको थियो भने केन्द्रको निर्देशन अनुसार मंगलबार नयाँ कार्यसमिति चयन गरिएको हो।