१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार महासंघको चुनाव आज

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७७, बुधबार ०४:०१

काठमाडौं । नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ ।

मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासंघको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिनुभएकोे छ भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी छन् ।

प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।