१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा बालबालिकामा जारी कोरोनाविरुद्धको खोप परीक्षण रोकियो

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७७, बुधबार ०४:०२

लन्डन । बेलायतमा बालबालिकामा भइरहेको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको छ । वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा खोपको परीक्षण रोकिएको हो ।

परीक्षणलाई लिएर सुरक्षा सम्बन्धी कुनै पनि चासो वा चिन्ता नरहेको तर ब्लड क्लट्स सम्बन्धी भइरहेको अनुसन्धानको प्रतिवेदनको पर्खाईमा वैज्ञानिकहरु रहेको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ ।

खोपको परीक्षणका लागि बेलायतमा झण्डै ३ सय बालबालिकाले स्वतन्त्र रुपमा आफ्नो नाम टिपाएका छन् । बेलायतमा अक्सफोर्डको खोपको प्रभावकारिता बालबालिकामा कस्तो छ भन्ने थाहा पाउनका लागि गएको फेब्रुअरीदेखि परीक्षण शुरु भएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पालो आएपछि खोप लगाउन सर्वसाधारणलाई अपिल गरेका छन् । बेलायतमा हालसम्म तीन करोड १६ लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

कुल ५४ लाख मानिसले खोपको दुवै मात्रा पाएका छन् । बेलायतमा अहिले अक्सफोर्ड–एस्ट्राजेनेका र फाइजर–बायोएनटेकको खोप प्रयोग भइरहेको छ । मोदेर्नाले विकास गरेको खोपले स्वीकृति पाएको छ ।