१४ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी केन्द्रले गर्‍यो चार सांसदलाई कार्बाही

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७७, बुधबार ०५:०७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कार्बाही गरेको छ। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कार्बाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ।

राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कार्बाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका छन्।

माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्ने निर्णयबमोजिम उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको हो।

सांसदहरु रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लङ्घन गरेको सङ्घीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ।