१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार महासंघ मतगणना जारी : पोखरेल प्यानलको अग्रता

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७७, बिहीबार ०४:३९

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी छ । मतगणनामा प्रेस युनियन नेतृत्वको प्यानलले अग्रता लिएको छ । केही जिल्लाको गणना सकिँदा कांग्रेस–माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता लिएको छ ।

एमाले निकट प्रेस चौतारीको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अग्रता लिइरहेको छ । अध्यक्षका अर्का प्रत्याशी गजेन्द्र बुढाथोकीले न्यून मत प्राप्त गरेका छन् । दलीय गठबन्धनको प्रभाव हरेक जिल्लामा देखिएको छ । प्यानलभन्दा बाहिर कमैमात्र मत खसेको मतगणनामा सहभागी पत्रकार नेताहरुले बताएका छन् ।

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा पोखरेल नेतृत्वको प्यानलले विजय हासिल गरेको छ । लुम्विनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ ।

भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ । गण्डकीका जिल्लाहरुमा प्रतिस्पर्धा छ ।

प्रदेश १
धनकुटामा मतगणना सकिदा विपुल पोखरेलले ८३ मत पाएका छन् भने निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत पाएका छन् । महासचिवमा रोशन पुरीले ७६ र बाकलकृष्ण बस्नेतले ३३ मत पाएका छन् भने सुबोध गौतमले ६ मत पाएका छन् । धनकुटाबाट पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि छन् ।

उदयपुरमा पनि मतगणना सकिएको छ । अध्यषमा विपुल पोखरेलले ४४ मत पाउँदा निर्मला शर्माको ३८ र गजेन्द्र बुढाथोकीको १० मत रहेको छ । बरिष्ठ उपाध्यक्षमा रमेश विष्टको ५६ र माधव नेपालको २२ मत छ भने महासचिवमा रोशन पुरीले ४८ मत पाउँदा बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन् ।

सोलुखम्बुको मतगणना सकिदा विपुल पोखरेलले ३२ मत पाएका छन् भने निर्मला शर्माको २५ मत छ । ओखलढुंगामा पोखरेलले १८ र शर्माले २५ मत पाएकी छन् । भोजुपुरमा पोखरेलको १९ र शर्माको २० मत छ ।

लुम्बिनी
लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्र्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ । पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा विपुल पोखरेल प्यानलले अग्रता लिएको छ । ४ जिल्लाको मत गणना सकिएको छ । उक्त जिल्लाहरूमा पोखरेलले अग्रता लिएका हुन् । बझाङ, डोटी र डडेल्धुरा पोख्रेलको बढी मत छ ।

दार्चुलामा निर्मला शर्माले बढी मत पाएकी छन् । प्रदेशका ४ जिल्लामा पोखरेलले २०६ मत पाएका छन् भने शर्माले ११८ मत पाएकी छन् । बैतडी, बाजुरा, अछामको अन्तिम मत परिणाम आउन बाँकी छ । कैलाली कञ्चनपुर मत गणना सुरु हुँदै छ ।