१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रगत जम्ने अस्वाभाविक अवस्थालाई दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७७, बिहीबार १८:५५

एजेन्सी । युरोपेली संघ सम्बद्ध औषधी नियामक निकाय युरोपियन मेडीसीन्स एजेन्सी ईएमएले कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोपका कारण देखा परेको रगत जम्ने अस्वाभाविक अवस्थालाई अत्यन्त दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने बताएको छ । युरोपमा देखा परेका त्यस्ता विभिन्न ८६ वटा केसबारे अध्ययन गरेपछि ईएमएले खोप लगाएपछिका असरको तुलनामा फाइदा बढी रहेको निष्कर्ष निकालेको हो ।

ईएमएले करिब २ करोड ५० लाख युरोपेलीलाई दिइएको खोपको तथ्याङ्कलाई विश्लेषण गरेर सो निष्कर्ष निकालेको बताएको छ । ईएमएले जोखिमका निश्चित कारक सूचीकृत नगरे पनि रगत जमेको अधिकांश केस ६० वर्ष मुनिका महिलाहरूमा देखिएको आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । ईएमएकी कार्यकारी निर्देशक इमर कुकले खोपका विविध फाइदाले अत्यन्त दुर्लभ रुपमा देखा परेका असर ओझेलमा पर्ने बताउनुभएको छ ।

यूकेकै खोपसम्बन्धी सल्लाहकार समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई एस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ । यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका मध्ये ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भएको । यसअघि हिजो विश्व स्वास्थ्य संगठनले रगत जम्ने समस्याको सम्भावनालाई स्वीकार्दै त्यसको पुष्टि नभएको र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले एस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या अत्यन्त दुर्लभ रहेको जनाएको थियो ।