८ बैशाख २०८१, शनिबार
Follow Us

जसपाले गृहमा बुझायो २१० जनाको सूची

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७७, शुक्रबार ०४:२२

जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्।

२४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा.झाले बताए। जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ। २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको हत्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ। सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ। २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ।

‘पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं’, नेता झाले भने। जसपाले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताए। झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ। कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ। मन्त्रिपरिषद्बाट प्रस्ताव अनुमोदन भएपछि मुद्दा फिर्ता लिइनेछ।

यसअघि जसपाले नाम संकलन गर्न गृह मन्त्रालयबाट फाराम लिएर जिल्ला–जिल्लामा पठाएको थियो। जिल्ला–जिल्लामा फाराम भराएर संकलन गरिएका नामको सूची जसपाले गृहमा बुझाएको हो। फाराममा मुद्दा लगाइएका व्यक्ति, मुद्दा दर्ता गरिएको अदालत, हाल मुद्दाको अवस्थालगायत विवरण खुलाइएको छ।

जसपाले सरकारसँग पाँचवटा माग राखेको छ। जसमध्ये मुद्दा फिर्ता लिनुपर्ने मागलाई उसले प्राथमिकता साथ उठाएको छ। यसबाहेक जसपाले थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ। विभिन्न चरणमा भएका वार्तापछि पार्टीले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको नेता झाले बताए।

गृह मन्त्रालयमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नामावली बुझाउनुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए। प्रधानमन्त्री ओली र ठाकुरबीच भएको सहमतिका आधारमा गृहमा नाम बुझाएको झाले बताए। जसपाले आफ्ना माग पूरा भएपछि मात्र नयाँ सत्ता समीकरणका बारेमा निर्णय लिने बताउँदै आएको छ। सरकार संकटमा पर्ने अवस्था आएपछि प्रधानमन्त्री ओलीले जसपाको समर्थन लिन विभिन्न चरणमा वार्ता गर्दै आएका छन्।

सरकारले जसपाका माग पूरा गर्न कार्यदल पनि गठन गरेको छ। कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई सरकारका तर्फबाट र जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सदस्य छन। शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट मानिन्छन्। पछिल्लो समय जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग निकट देखिएका छन्। जसपाका नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत नेता ओलीसँग सहकार्य गरेर सत्तामा जानुपर्ने पक्षमा छन्।

जसपा नेता राजीव झाले प्रधानमन्त्री ओलीले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले उनीसँग अध्यक्ष ठाकुर निकट भएको बताए। ‘हामीलाई हाम्रा मुद्दासँग मतलब छ। प्रधानमन्त्रीले नगदमै हाम्रो माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ’, राजीवले भने, ‘हातहातै माग पूरा हुन्छन् भने किन नगराउने ?’ ठाकुर निकट मानिने उनले ओलीले अध्यक्ष ठाकुरलाई सरकारको नेतृत्व गर्नेसम्मको प्रस्ताव राखेको पनि बताए। जसपाका एक पदाधिकारी भन्छन, ‘प्रधानमन्त्रीको आश्वासनपछि ठाकुर निकै उत्साहित हुनुभएको छ।’ जसपाका एक नेताका अनुसार पछिल्लो एक वर्षयता ठाकुर र प्रधानमन्त्री ओलीबीच निकटता बढेको हो।

खासगरी तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले तत्कालीन राजपासँग निकटता बढाउन थालेको ठाकुर निकट एक नेताले बताए। यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ओली र ठाकुरबीच पटकपटक एक्लाएक्लै र सामूहिक कुराकानी हुने गरेको छ। तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको हो। प्रधानमन्त्री र ठाकुरबीच बढ्दै गएको निकटतासँगै जसपाभित्र गम्भीर विवाद उत्पन्न भएको छ। ठाकुर पक्ष पार्टीका माग पूरा गराएर सत्तामा ओलीसँग सहकार्य गर्न चाहन्छन्। तर यादव ओलीसँग सत्ता सहकार्य गर्न तयार छैनन्। जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पनि यादवको पक्षमा छन्।