१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना परीक्षण नहुँदा गाउँगाँउमा संक्रमणको जोखिम

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७७, शुक्रबार ०४:३०

कैलाली । सुदूरपश्चिमका सीमानाकाबाट सयौँको संख्यामा नेपाली विना परीक्षण धमाधम आफ्नो घरतर्फ फर्किन थालेका छन् ।

सीमानाकामा राखिएको हेल्थ डेस्कमा पर्याप्त स्वास्थ्यकर्मी नखटाइँदा त्यसरी भारतबाट भित्रिने सबैको एन्टिजेन परीक्षण हुन सकेको छैन। नाकामा परीक्षण किट अभाव भइरहँदा अबेर रातिसमेत नेपालीहरू बिना परीक्षण आफ्नो घर फर्किन थालेका छन्। परिक्षण नगरि आफुमानी ढङगले भारतबाट नेपालमा सहज प्रवेश भईरहेकाले भाइरसको नयाँ प्रकार अब दूरदराजका गाउँगाँउसम्म पुग्ने चिन्तासमेत बढेको छ।

बुधबार अबेर राति मात्र धनगढी नजिकै रहेको त्रिनगर–गौरीफन्टा नाकाबाट झण्डै १ हजार नेपाली भित्रिए। बिहीबार राति पनि त्यतिकै संख्यामा नेपालीहरू भित्रिएका छन्।भारतका विभिन्न राज्यबाट आएका उनीहरू राति ८ बजे नाकामा पुगेपछि प्रहरीले केही मानिसको ज्वरो नापेर भित्र्याउने गरेको छ भने, केही ज्वरोसमेत ननापेर भित्रिने गरेका छन्।

तर रातिको समयमा हेल्थ डेस्कमा कर्मचारी नहुँदा उनीहरूको एन्टिजेन परीक्षण नगरि नेपाल भित्रिएका छन् । नेपाल भित्रिएका उनीहरू सार्वजनिक सवारी साधनमा बसेर आफ्नो घरतर्फ लाग्ने गरेका छन्।