८ बैशाख २०८१, शनिबार
Follow Us

बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७७, शुक्रबार ०५:०५

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडेनले कार्यकारी आदेश जारी गरेको उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन ।

स्थानीयस्तरमा उत्पादन हुने ‘घोस्ट गन’ दर्ता नहुने भएकाले पत्ता लगाउन कठिन हुने जानकारहरु बताउँछन् । अमेरिकी नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानले सुनिश्चित गरेको छ । बाइडेनले जारी गरेको यस सम्बन्धी कार्यकारी आदेशलाई कतिपयले आफ्नो संवैधानिक अधिकार हनन भएको रूपमा हेरेका छन् ।

अमेरिकामा बन्दुकबाट हुने हिंसा टाउको दुखाइको विषय बनेको छ । एक कार्यक्रममा राष्ट्रपति बाइडेनले अमेरिकामा बन्दुकबाट हरेक दिन १०६ जनाको मृत्यु हुने गरेको तथ्यांक सुनाएका थिए । गत बुधबारमात्रै साइथ क्यारोलाइनमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी मार्च महिनामा भएको बन्दुक आक्रमणबाट १८ जनाको ज्यान गएको थियो ।