१५ बैशाख २०८१, शनिबार
Follow Us

जवर्जस्ती चुनाव गराए एनआरएनए अमेरिका खरेज हुने (पत्रसहित)

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७७, शनिबार ०७:१३

लण्डन। गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेको विवादमा फसेको छ ।

मतदाता सदस्यहरु बनाउदा आफूखुुसी बनाइएको र सन् २०१९ का दुई हजार ९३ जना फर्जी मतदाता भनी विभिन्न छानविन समितिहरुले किटानी रिपोर्ट दिइएका भए पनि ती सबै फर्जी मतदाता यसपल्ट पनि सदस्य बनाइएकाले सदस्यता प्रमाणीकरण गरेर फर्जी मतदातालाई हटाएर मात्र चुनाव गर्ने दवावमा एनआरएनए अमेरिका छ ।

तर, यस्तो दवावलाई वेवास्ता गर्दै यही मे महिनाको अन्तिम साताका लागि चुनाव गराउने कार्यतालिका प्रकाशन गरेपछि अप्रमाणित सदस्यहरुबाट हुने चुनावको मान्यताबारे प्रश्न पनि उठेको छ ।

जवर्जस्ती चुनाव गराउन खोजेको भन्दै एनआरएनए अमेरिकाकी महिला संयोजक उमा कार्की थापा, आईसीसीका सदस्यहरु प्रमोद सिटौला, होम गौतम, डा विष्णुमाया परियार, स्वराज खाती, यमुना भट्टराई, डा।हरि दाहाल र पुरुषोत्तम बोहराले एनआरएनए अन्तर्राष्ट्रिय समितिसमक्ष निर्वाचन प्रक्रिया तत्काल रोक्न निर्देशन दिनु हुन भन्दै निवेदन दिएका थिए ।

निवेदकहरुले मतदाता नामावली प्रकाशन गर्नुपर्नेमा प्रमाणीकरण नै नभई निर्वाचन आयोगले निर्वाचनको प्रयास गर्नु दुरासयपूर्ण रहेको, आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा बनेको प्रमाणीकरण कमिटीले काम पूरा नगर्दै निर्वाचनमा जाने गरी अटेर गरेको, आईसीसीको निर्देशनविपरीत निर्वाचन कार्यतालिका प्रकाशन गरेको, अघिल्लो निर्वाचनमै पद र प्रविधिको दुरुपयोग गरेकोमा अमेरिकाको अदालतमै मुद्धा खेपिरहेका प्रमुख निर्वाचन आयुक्तले गराएको निर्वाचन मान्य नहुने जस्ता आधारहरु दिए तत्काल निर्वाचनको प्रक्रिया रोक्न आईसीसीका अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका थिए ।

त्यसपछि आईसीसीका महासचिव हेमराज शर्माले हस्ताक्षर गरी एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक निर्देशनात्मक पत्र लेख्दै आईसीसीका निर्णयहरु लागू गर्न र वेवास्ता गरी निर्वाचनमा गए आईसीसीले मान्यता नदिन सक्ने उल्लेख गरे ।

त्यसपछि फेरि आईसीसीका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा अमेरिकाको सदस्यता प्रमाणीकरणका लागि आईसीसीले बनाएको टोलीका संयोजक सोनाम लामाले अर्को निर्देशनात्मक पत्र लेखेर आईसीसीको प्रमाणीकरण टोलीका संयोजक लामालाई हालसम्म बनाएका सदस्यहरुको विवरण प्रमाणीकरणका लागि तत्काल उपलब्ध गराउन, दर्ता भइसकेका सदस्यहरु पनि आईसीसीको एमआईएस सिष्टममा अनिवार्य दर्ता हुनुपर्ने र सन् २०२१—२०२३ को नयां कार्यसमितिका लागि हुनुपर्ने चुनाव जुलाईभन्दा अगाडि नगर्न भनेका छन् ।

अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मासमेतले आधिकारिक पत्र लेखेर निर्वाचन जुलाईभन्दा अगाडि नगर्न निर्देशन दिंदादिंदै आईसीसी अमेरिकाको चुनाव भने यही मे २७ तारिकमा गर्ने गरी निर्वाचन कार्यतालिका नै प्रकाशित गरिएको छ ।

केन्द्रको निर्देशन अटेर गरेपछि आईसीसीको अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले समेत एनसीसी, अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक पत्र लेख्दै अध्यक्ष पन्तको हस्ताक्षरमा अप्रिल ५ तारिक लेखिएको पत्रको कार्यान्वयन गरेर सदस्यता प्रमाणीकरण गर्न र जुलाईमा मात्र चुनाव गराउन भनेका छन् ।

यी सबै निर्देशन, निवदेनहरुलाई बेवास्ता गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले चुनाव मे मै हुने र आईसीसीले भनेजस्तो तत्काल साधारणसभा बोलाएर त्यसलाई अमेरिकी कानुनअनुसार प्रमाणित गराई जुलाईमा चुनाव गराउन नसकिने बरु अहिलेकै प्रक्रियाअनुसार गई चुनाव गराएर जुलाईमा हुने साधारणसभामा आईसीसीको निर्देशनअनुसारको प्रस्ताव साधारणसभामा लैजान सकिने जवाफ फर्काएका छन् ।

केन्द्रले विधिविपरीत फेरि धांधली गरेर चुनाव गराउन लागेको भन्दै तत्काल निर्वाचनको काम रोक्न निर्देशन दिने र एनआरएन अमेरिकाले केन्द्रको निर्देशनको पूरै वेवास्ता गर्दै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र मे महिनामै चुनाव गराउने अडान राख्दै काम अघि बढाउने गरेकाले केन्द्र र एनसीसी अमेरिकाबीच तीब्र विवाद देखिएको छ ।