१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि, ३० जना मात्रै सहभागी हुने

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७७, आईतवार १०:२७

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण हुनु भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिनुभएको छ । गत शुक्रबार नै उहाँको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत उहाँको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उहाँको अन्त्येष्टि सुरु गरिने तय भएको छ । कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ । उहाँको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

उहाँको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किनु हुने भएको छ । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आउनु भएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लाग्नु भएको हो । मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उहाँलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उहाँको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो । सन् १९४७ मा एलिजावेथसँग बिहे गर्नुभएका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताउनुभएको राजदरबारले जनाएको छ । उहाँहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बन्नुभएको थियो ।

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू हुनुहुन्छ । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिनुभएको थियो । उहाँ हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुनुहुन्थ्यो ।

शोकको यस घडीमा विश्व समुदायले उहाँलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गर्नुभएको व्यक्तिका रुपमा स्मरण गरेका छन । बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताउनुभएका राजकुमार फिलिपले पछिल्ला केही वर्ष यता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिनुभएको थियो ।

उहाँले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नुभएकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाउनुभएको छ । महारानीका पतिको रूपमा उहाँलाई कुनै पनि संवैधानिक हैसियत त थिएन । तर राजसंस्थाको नजिक उहाँभन्दा धेरै अरू कोही थिएन ।

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उहाँहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गर्नुभएको थियो । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो ।

बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा उहाँलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । उहाँको विशेष रुचि युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।