६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत युवाको मृत्यु, दुई शहरमा लगाइयो रात्रिकालीन कर्फ्यू

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार ०५:५९

युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो ।

२० वर्षीय डन्टे राइटलाई ट्राफिक नियम उल्लघंन गरेको आरोपमा मिनसोटाको ब्रूक्लीन सेन्टरमा गोली हानिएको थियो । प्रहरीले उक्त घटनालाई दुर्घटना भने पनि सर्वसाधारणले त्यसलाई अस्वीकार गर्दै प्रदर्शन चर्काएका छन् । प्रहरी अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोजिएको थियो ।

प्रहरीले हतकडी लगाउन खोजे पनि उनी आफ्नो कारमा चढेर जाने प्रयास गरेका थिए । त्यसपछि पक्राउका लागि प्रहरीले उनलाई टेजर प्रहार गर्न भनेको थियो ।

तर महिला प्रहरी अधिकारीले भुलबस गोली प्रहार गरेको बताएकी छिन् । गोली लागेका राइट गाडी लिएर अघि बढेका थिए । केही पर पुगेपछि राइटको गाडी दुर्घटनामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।