१५ चैत्र २०८०, बिहीबार
Follow Us

युरोपमा सङ्ख्यामा भारी गिरावट

नेपालब्रिटेन डट कम्
२३ पुष २०७३, शनिबार १३:२३

पोल्याण्ड । सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ ।

सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो ।

इयुले टर्कीसँग सन् २०१६को मार्चमा गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रणसम्बन्धी सहमतिपश्चात् सिरियाली आप्रवासी शरणार्थीको ग्रीसलगायतका युरोपेली मुलुकमा प्रवेश गर्ने रफ्तारमा कमी आएको फ्रन्टेक्सले बताएको छ ।

प्रारम्भिक चरणमा भएका अध्ययनअनुसार सन् २०१६ मा ग्रीसको पूर्वी ऐजन क्षेत्रमा पुग्ने शरणार्थी सङ्ख्यामा ७९ प्रतिशत अर्थात् एक लाख ८२ हजार ५०० ले घटेको फ्रन्टेक्सको अध्ययन प्रतिवेदनमा छ ।

सोही समयमा इटालीको बाटो युरोप प्रवेश गर्ने शरणार्थी सङ्ख्यामा केही वृद्धि देखिए पनि सन् २०१५ को तुलनामा दुवै नाकाबाट प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी कमी आएको देखिएको छ । फ्रन्टेक्सले सन् २०१६ मा इटालीको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या एक लाख ८१ हजार पुगेको र यो सन् २०१५ को तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ । यस वृद्धिमा टर्की भएर ग्रीसको बाटो युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थीको नियन्त्रणले असर पारेको अध्ययनमा जनाइएको छ ।

दोस्रो विश्वयुद्धपछि सन् २०१४ र सन् २०१५ ताका द्वन्द्वग्रस्त सिरिया, यमन, अफगानिस्तानलगायतका मुलुकबाट गरिबी र द्वन्द्वबाट बचाउनका लागि युरोप तथा अमेरिका प्रवेश गर्ने आप्रवासी सङ्ख्याका कारण इयुमा नराम्रोसँग आप्रवासी शरणार्थी समस्या देखिए पनि पछिल्लो समय यसमा नियन्त्रण देखिएको हो ।