११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल पत्रकार महासंघ युके वर्ष पत्रकारिताको लागि दरखास्त आव्हान

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७८, शुक्रबार ०८:०८

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले यसै वर्षदेखि ‘नेपाल पत्रकार महासंघ युके वर्ष पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । यो पुरस्कार बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्न गरिएको हो । यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५०२ पाउण्ड नगद पुरस्कार र सम्मानपत्र वा संयुक्त रुपमा दुई जनालाई जनही २५१ पाउण्ड नगद र सम्मापत्रसहित प्रदान गरिन्छ ।

सन् २०२० मा प्रकाशित आफ्ना उत्कृष्ट समाचारसहित यस पुरस्कारका लागि आवेदन गर्न तथा आफूलाई उत्कृष्ट लागेको समाचारलाई सिफारिस गर्नका लागि पत्रकारहरु तथा सर्वसाधारणका लागि यो सूचना जारी गरिएको छ ।

पुरस्कारका लागि आवेदन गर्न निम्न आधारहरु तोकिएका छन्

१. बेलायतभित्र वा बाहिरबाट सञ्चालित वा प्रकाशित सन्चार गृहमार्फत नेपाली वा अङ्ग्रेजी भाषामा कम्तीमा ३ वर्ष लगातार काम गरेका बेलायतमा रहेका नेपाली र नेपाली मूलका पत्रकारहरुले यस पुरस्कारका लागि आवेदन गर्न सक्नेछन् ।

२. यस पुरस्कारमा सहभागी हुन चाहने पत्रकारहरुले सन् २०२० जनवरी १ देखि डिसेम्बर ३१ को अवधिसम्म आफूद्वारा लिखित (वाइलाइनसहित) लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिङ्क वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति बढीमा तीन वटा ३१ मे २०२१, २३:०० सम्ममा [email protected] मा पठाउनु पर्ने छ ।

३. बेलायतका नेपालीहरु, भूपू गोर्खा तथा गैरआवासीय नेपालीहरुको जनजीवनलगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख तथा समाचारहरुलाई पुरस्कार छनौटमा प्राथमिकता दिइने छ । यस्तै, नेपाल र नेपालीहरुका लागि उपयोगी हुने बेलायतको अनुभव र अभ्यासका बारेमा प्रकाशित सामग्रीलाई पनि प्राथमिकता दिइनेछ ।

४. सन्चारकर्मीले आफूले लेखेको सामग्री आफै दाखिला गर्नसक्नेछन् साथै अरु कसैले सिफारिस गरिदिन पनि सक्नेछन् । तर सिफारिसकर्ताले आफूले सिफारिस गरेको व्यक्ति र उनको प्रकाशित समाचारको लिङ्क वा स्क्यानिङ प्रति माथि दिइएको इमेल ठेगानामा दिइएको समयसीमाभित्र पठाउनु पर्नेछ ।

४. स्वार्थ बाझिने कारणले छनौट समितिमा रहेका व्यक्तिहरुले यस पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।

५. पुरस्कार विजेताको घोषणा नेपाल पत्रकार महासंघ युकेको अधिवेसनमा गरिने छ ।