७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डन प्रतियोगितामा नेपाली मोडल

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार ०७:२१

काठमाडौं । लण्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस अफ द वल्र्ड–२०१७’ मा नेपाली मोडलहरुले सहभागिता जनाउने भएका छन् । राजधानीमा फेस अफ द वल्र्ड नेपालले पत्रकार सम्मेलन गर्दै आगामी जुलाई १५ मा लण्डनमा हुने ‘फेस अफ द वल्र्ड—२०१७’ मा नेपाली मोडलहरुको सहभागित जानकारी दिएको छ ।
फेस अफ द वल्र्ड नेपालका निर्देशक पियुस कर्णका अनुसार प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौंमा ‘फेस वफ द वल्र्ड नेपाल–२०१७’ आयोजना गरिने छ । त्यसका लागि आयोजक संस्थाले झापा, जनकपुर, वीरगञ्ज तथा काठमाडौंमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ । अडिसनबाट १४ जना पुरुष तथा ७ जना महिला प्रतिस्पर्धीहरु छनोट भएका छन् । निर्णायक प्रतियोगितमा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागी गराउने आयोजक संस्थाको लक्ष्य छ ।
‘हामी यतिबेला अनलाईनबाट समेत अडिसन लिइरहेका छौं,’ कर्णले भने,‘आउँदो शुक्रवारसम्म अडिसन गरेर शनिवारदेखि २५ जना महिला तथा २५ जना पुरुष छनोट गरेपछि उनीहरुलाई ग्रुमिङ कक्षामा सहभागि गराइने छ ।’
कर्ण आफ्नै व्यक्तिगत पहलमा वर्ष २०१६ मा लन्डनमै सम्पन्न ‘फेस अफ द वल्र्ड—२०१६’ मा सहभागिता जनाएर ‘सेकेण्ड रनर्स अप’ तथा ‘रन वे मोडल’को उपाधि जित्न सफल भएका थिए । उपाधि जितेलगत्तै कर्णले उक्त प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आयोजक संस्थाको फ्रेन्चाइसका लागि पहल गरेका थिए ।
उक्त संस्थाले नेपालमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नेपालकै प्रतिनिधित्व गर्ने एक जना विजेतालाई सहभागिताको मार्ग प्रसस्त गरेपछि फेस अफ द वल्र्ड नेपाल संस्था स्थापना गरिएको हो ।
फिल्म ‘गाँठो’ की नायिका नम्रता श्रेष्ठले प्रतियोगिहरुलाई करिव तीन साता लामो प्रशिक्षण दिनेछिन् । निर्णायक प्रतियोगितामा ‘फेस अफ द वल्र्ड’ यूकेका प्रतिनिधीका साथै अन्तर्राष्ट्रिय मोडलहरु निर्णायकको रुपमा सहभागी हुनेछन् ।