६ बैशाख २०८१, बिहीबार
Follow Us

सोंपाल समाज यूकेको ल्होछार भव्य

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार १३:१२

लन्डन । सोंपाल समाज यूकेले गत ७ जनवरी, २०१७ का दिन लन्डन वेम्लीस्थित ओकिङटन म्यानर स्कुलमा गुरुङहरुको मौलिक पर्व ल्होछार भव्य रूपमा मनाएको छ ।
समाजले प्रवासमा समेत तमु संस्कृति र पहिचान बचाउन एवं यसलाई नयां पिंढीसम्म पुरयाउनुका साथै आपसी सम्बन्ध अझ प्रगाढ बनाउन ल्होछार मनाइएको जनाएको छ ।
ल्होछार कार्यक्रमको उद्घाटन समाजका जेष्ठ सदस्य चन्द्रबहादुर 
गुरुङ, अध्यक्ष चन्द्रबहादुर गुरुङ र उपाध्यक्षहरु श्रीप्रसाद गुरुङ र युक्त बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष श्री प्रसाद गुरुङले दिए भने आमा समूहकी अध्यक्ष नयेन्द्र गुरुङ लगायत आमाहरुले सबैको सुख समृद्धिको कामना गर्दै वुद्ध भजन गाए ।
उक्त कार्यक्रम सञ्चालन समाजका महासचिव जगदीश गुरुङ र बिएफबिएस पूर्व कार्यक्रम सञ्चालिका निलम गुरुङले गरेका थिए ।

कार्यक्रमका अवसरमा कोषाध्यक्ष शंकर गुरुङले समाजको आय व्यय विवरण प्रस्तुत गरे । कार्यक्रलाई आकर्षक बनाउन राफल पुरस्कारको ब्यवस्था पनि गरिएको थियो जसमा प्रथम पुरस्कर सल्लाहकार जुम प्रसाद गुरुङ, दोश्रो पुरस्कर क्या. राम काजी गुरुङ र अन्य पुरस्कारहरु निवर्तमान अध्यक्ष राम गुरुङ, उपाध्यक्ष युक्त बहादुर गुरुङ, सल्लाहकार धनप्रसाद गुरुङ र सल्लाहकार धन माया गुरुङले गरेका थिए ।

कार्यक्रमका सहभागीलाई क्या. प्रेम बहादुर गुरुङ, श्रीमती रत्न 
गुरुङ, खड्काबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र श्रीमती नयेन्द्र गुरुङले निशुल्क पेय पदार्थ उपलब्ध गराएका थिए । सम्मान कार्यक्रम यस पटक अलिक भिन्न गरियो । कार्यक्रममा सहभागी चेलीबेटी र ज्वाईंहरुलाई पस्मिना र मफलर ओढाइ सम्मान गरिएको हो ।

कार्यक्रममा नेपालबाट हालै बेलायत आएका, नयां घर खरिद र व्यापार ब्यवसायमा आवद्ध, विवाह, नयां जन्म साथै जिसिएसइ, ग्रयाजुएसन र मास्टर्स डिग्रीमा सफलता हासिल गर्ने विद्यार्थीलाई विगत वर्ष जस्तै सम्मान गरिएको थियो । यसका साथै गत वर्ष नेपाली मेला 
(एम्बेसडर कप २०१६) मा दोस्रो हुन सफल रोधी परिवारका छोराछोरी हरुलाई पनि सम्मान गरिएको थियो ।

मनोरञ्जन कार्यक्रमका लागि सांस्कृतिक सचिव नवराज गुरुङ र उनको टिम सक्रिय भएको थियो । उक्त अवसरमा स्थानीय कलाकारहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने सल्लाहकार दिपक गुरुङको विशेष पहलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु मनोज गुरुङ र मिलन आमात्यको गीत संगीतले सबैलाई भरपुर मनोरञ्जन गराएको थियो । साउण्ड र डिजेमा सपन इन्टरटेनमेन्ट लिमिटेडले व्यवस्था गरेको थियो । समस्त कार्यसमिति र अन्य शुभचिन्तकको सहयोगले कार्यक्रम सफल भएको ल्होछार कार्यक्रम 
संयोजक तेजबहादुर गुरुङले बताए ।