६ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो छ चुनावी तयारी, के गर्दै छन् मुख्य दल ?

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार ०४:०२

निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन् । निर्वाचन आयोग अपूर्ण छ । संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् । आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन् ।

तयारीका लागि के गर्दै छन् मुख्य दल ?
केन्द्रीय सदस्यले निर्वाचनको वातावरण, पार्टीको अवस्था र गर्नुपर्ने कामबारे प्रतिवेदन दिएपछि केन्द्रमा समिति बनाएर चुनावी रणनीति तय गर्ने कांग्रेसको तयारी छ । २ सय ४० वटै निर्वाचन क्षेत्र, नगर, गाउँको समग्र विषय मूल्यांकन गरेर रणनीति बनाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनकेन्द्रित भएर चारमहिने राष्ट्रिय जागरण अभियान चलाएको छ । निर्वाचन घोषणा भएमा माथिदेखि तलसम्मको पार्टीपंक्तिलाई तत्काल परिचालन गर्ने गरी एमालेले अभियान चलाएको हो । अभियान सुरु भएको दुई महिनामै एमालेले बैठक, भेला, प्रशिक्षण र आमसभासम्मका एकसरो कार्यक्रम गरेको छ ।

संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएमा निर्वाचनमा सहभागी हुने मधेसकेन्द्रित दलहरूको साझा धारणा छ । सोहीअनुसार मधेसी दलले जिल्लामा कार्यक्रम गर्दै आएका छन् । आफूहरूको चाहनाअनुसार संविधान संशोधन भएमा सबै तहको निर्वाचनमा मधेसी मोर्चा गठबन्धनकै रूपमा सहभागी हुने आन्तरिक सहमति भएको मधेसका सबैजसो दलका मुख्य नेताहरूले बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि निर्वाचन तयारी सुरु गरेको छ । माओवादी केन्द्रले निर्वाचनलाई लक्षित गर्दै चुनावी नारा तय गरिसकेको छ । माओवादीले ‘गाउँ, नगर, घर–घर जाऊँ– माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने चुनावी नारा तय गरेको छ । यस्तै दुई पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनमा केन्द्रित भएको छ ।
– नयाँ पत्रिकाबाट