१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमानको लासको पर्खाइमै श्रीमतीको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार ०४:०६

रोल्पा । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने घर्तीले बताउनुभयो । प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार लास आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको घर्तीले जानकारी दिनुभयो ।

साउदी अरबमा एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । उहाँको मृत्यु भएको लामो समय भइसक्दासमेत शव नेपाल नआएको बताइएको छ ।