१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली दूतावास लन्डनद्धारा पृथ्वीजयन्ती बहिस्कार

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार १२:०४

लन्डन– नेपाली दूतावास लन्डनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लन्डनमा आयोजित एक कार्यक्रममा सहभागी नजनाउने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आज लन्डनमा मनाउन लागेको पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा नेपाली दूतावास लन्डनले आफ्नो प्रतिनिधी पठाउन अस्वीकार गरेको हो ।

आयोजकका अनुसार महामहिम डा. दुर्गा बहादुर सुवेदीलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिए पनि उनले सरकारले पृथ्वी जयन्ती मनाउने सम्बन्धमा कुनै औपचारिक निर्णय नगरेको भन्दै कार्यक्रममा सहभागी नहुने जानकारी आयोजकलाई पठाएका थिए ।

बेलायतमा हुने पुजाआज देखी भोजभतेरमा सरकारी प्रतिनिधी पठाउने दूतावासले राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको जन्मजयन्ती प्रति अनुदार भएको भन्दै आयोजकले असन्तुष्टी ब्यक्त गरेका छन् ।

०६२ र ६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटाएको थियो । त्यसयता दश वर्ष सरकारले बिदा नदिए पनि प्रधानमन्त्री, मन्त्री लगायत सरकारका उच्चअधिकारीहरु पृथ्वीजयन्तीको कार्यक्रम सहभागी हुदैं आएका छन् ।

संगठनले कार्यक्रममा सहभागिता जनाइदिन बेलायतस्थित सामाजिक र जातीय संघसंस्थाका प्रतिनिधि एवं अन्य प्रवुद्ध वर्गमा अनुरोध समेत गरेको छ ।

नेपालमा लोकतन्त्रपछि पृथ्वी जयन्ती मनाउने परम्परा विलिन हुंदै गएपनि संस्थाले लन्डनमा सन् २०१० देखि वर्षेनी मनाउंदै आएको छ । नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक हुने विश्वास लिएको छ ।

वाटफोर्ड रोडस्थित हिमालयन क्लवमा आयोजना गरिएको कार्यक्रममा सहभागी भई राष्ट्र निर्माताप्रति सम्मान दर्शाउन बेलायतबासी नेपालीहरुलाई आयोजक संगठनका अध्यक्ष भरत क्षेत्रीले आव्हान गरेका छन ।

दोश्रो जनआन्दोलन अघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन दबाबमा परेको थियो ।