१५ चैत्र २०८०, बिहीबार
Follow Us

संविधान संशोधन विधेयक राष्ट्रको हितमा छैन: अध्यक्ष थापा

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार १३:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताउनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा उहाँले सरकारले ल्याएको सो विधेयक राष्ट्रको हित अनकूल नरहेकाले त्यसलाई स्वीकार्न नहुने बताउनुभयो ।
अध्यक्ष थापाले मुलुकमा करिब ७० लाख युवामध्ये ५० लाख बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका परियोजना सञ्चालन गरी ती युवालाई फर्काउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले मुलुकमा शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै देशमा विद्यमान राजनीतिक अन्योलताको अन्त्यका लागि आफ्नो पार्टीले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले छिमेकी राष्ट्रले गरेको प्रगतिले उनीहरुको अर्थतन्त्र तीव्रगतिमा अगाडि बढेको भए पनि नेपालमा राजनीतिक अस्थिरता र अन्योलताले विकास निर्माणका काम हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा प्रवेश गरेका राजीव गुरुङसहित ६०० लाई पार्टीमा स्वागत गरिएको थियो ।