७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती सेनामा नेपाली गोर्खा सैनिकमाथि दुर्व्यवहार, कोर्ट मार्शलमा सुनुवाइ सुरु

नेपालब्रिटेन डट कम्
१९ असार २०७८, शनिबार १९:४६

लण्डन। बेलायती सेनामा नेपाली गोर्खा सैनिकलाई अर्का एक सहकर्मीले कार्यस्थलमै त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएको विषयमा कोर्ट मार्शलमा सुनुवाइ सुरु भएको छ । बिहानको खानामा एक अधिकारीले किपर (माछाको एक प्रकारको परिकार) कम भएको गुनासो गरेपछि ती सैनिकले नेपाली सहकर्मीलाई अश्लील गाली गर्दै धम्की दिएका थिए । कर्पोरल केभिन गिब्सनले आफ्ना सहकर्मी नेपाली गोर्खा सैनिक प्रकाश राईलाई धम्की दिएका हुन् ।

त्यतिबेला आफ्नो ब्यारेकमा गिब्सन र राई दुवै कुकको जिम्मेवारीमा थिए । बुलफोर्ड मिलिट्री अदालतमा भएको सुनुवाइमा बताइएअनुसार सी फुट मन पराउने एक रिसाहा सैनिकले आफूलाई चाहिने डाइट नदिइएको भन्दै विवाद सुरु गरेकोमा गिब्सनले नेपाली सहकर्मी राईलाई ‘फ*ग नेपाली …’ भन्दै गाली गरेका थिए । ५ मिनेटसम्म भएको विवादमा गिब्सनले राईलाई त्यहाँबाट बाहिर फ्याँकिदिने धम्की दिएका थिए ।

कोर्ट मार्शलमा बताइएअनुसार घटना २०१९ को जुलाइमा भएको थियो । त्यतिबेला गिब्सन र राई दुवै फकल्याण्ड आइल्याण्डमा पोस्टिङमा थिए । त्यस दिन कर्पोरेल गिब्सन विदामा थिए । तर, त्यसै दिन उनी भान्छामा गएर ब्रेकफास्टमा किपर कम भएको भनेका थिए । गिब्सनको दावीअनुसार राई त्यतिबेला आफूभन्दा तल्लो दर्जामा थिए र राईले उनको कुरा बेवास्दा गर्दै किचनबाट बाहिर निस्कन भनेका थिए जसका कारण विवाद भएको थियो ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार गिब्सनले राईलाई जातीय गाली गरेको कुरा भने अस्वीकार गर्दै आफूले राईलाई नेपालीमा नबोल्न भनेको दावी गरे । गिब्सनले आफूले राईलाई एक ग्राहकको गुनासोबारे सूचित गर्न गएको किनकि यो आफ्नो ड्युटी भएको दावी गरे । रोयल लोजिस्टिक कप्र्सका कर्पोरेल गिब्सनले राईले आफूलाई धकेलेर किचनबाहिर निकाल्न खोजेकोले आफूले उनलाई बाहिर निकालिदिने भनेको बताए ।

घटनाका बेला सिनियर एयरक्राफ्टम्यान बिक्रम लावती पनि त्यहीँ किचरमा भित्र बाहिर गरिरहेका थिए । कर्पोरेल गिब्सनका अनुसार त्यतिबेला राई लावतीसँग नेपालीमा बोलेका थिए । ‘त्यसपछि मैले उनीहरुलाई अंग्रेजीमा बोल्न भनेको थिएँ ताकि उनीहरु के भनिरहेका छन् मैले पनि बुझ्न सकुँ’ गिब्सनले कोर्ट मार्शललाई भने । लावतीका अनुसार त्यतिबेला गिब्सन नकै रिसाइरहेका थिए र उनले राईलाई अश्लील गाली गरिरहेका थिए । ‘उनले राईलाई फ* यु फ*ग नेपाली… भनिरहेका थिए’ लावतीले भने । अर्का प्रत्यक्षदर्शी प्राइभेट जोशुआ फार्मरले भने राईले गिब्सनलाई उक्साएको बताए ।