७ बैशाख २०८१, शुक्रबार
Follow Us

दिग्गज कलाकार दिलीप रहनेन्

नेपालब्रिटेन संवाददाता
२३ असार २०७८, बुधबार ०५:०९

बलिउडका प्रख्यात अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारको बुधबार बिहान ७:३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो जनाइएको छ । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।

करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन । दिलीप कुमारले करिब पाँच दशकको चलचित्र यात्रामा ६० वटा जति फिल्ममा काम गरेका थिए । धेरै भन्दा पनि राम्रा चलचित्रमा अभिनय गर्ने सोचका कारण उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।

उनका चर्चित चलचित्रहरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो । दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् । उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए ।

१९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।