७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षमताले सचिव, भाग्यले मन्त्री

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार ११:२७

गुण कोइराला, रोटरियन
एसपी कोइराला उपनामले परिचित साहित्यकार, सचिव र मन्त्रीसमेत भइसकेका शंकरप्रसाद कोइरालाकी श्रीमती हुन् गुण कोइराला । उनी केही सामाजिक संघ–संस्थामा आबद्ध छिन् । शंकरसँगको वैवाहिक जीवन, साहित्यिक लेखन र नेपाली समाजको परिवर्तनबारे कुमार राउतले गुणसँग गरेको कुराकानी :

० तपाई आफ्नै नामले चिनिनु हुन्छ कि श्रीमान्को नाम जोड्नुपर्छ ?
– परिचय बनाउने त्यस्तो ठूलो काम त केही गरेकी छैन, यद्यपि केही संघ–संस्थामा भने संलग्न छु । समाजले कसरी चिन्छ, त्यो मैले भन्ने विषय होइन ।

० कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
– निजामती कर्मचारी संघ श्रीमतीहरूले सञ्चालन गरेको सिसुवा बहुउद्देश्य सहकारी संस्थाकी उपाध्यक्ष छु । कार्यवाहक अध्यक्ष थिएँ, साथीहरूले अध्यक्ष बनाउने प्रयास गर्नुभएको थियो, तर उपाध्यक्षमै सीमित रहें । रोटरी क्लब बानेश्वरको पूर्वअध्यक्ष हुँ, त्यस्तै अन्य केही संघ–संस्थामा आबद्ध छु ।

० लेखन विधामा श्रीमान्को पदचिन्ह पछ्याउनु भएन ?
– जति लेखियो, स्कुल कलेज पढ्दा नै लेखियो । विवाहपछि घर व्यवहार र अध्ययनलाई समय दिँदा बित्यो । अहिले लेखनप्रति खासै मोह छैन ।

० के लेख्नुहुन्थ्यो ?
– विवाहसँगै साहित्य लेखन अन्त्य भयो, इच्छै हरायो । तर स्कुल पढ्दा विशेष गरी कविता लेख्थें ।

० विवाह कसरी सम्भव भयो ?
– मेरो दाइको साथी र उहाँको एकजना साथीमार्फत कुरा अघि बढेको हो । मैले शंकरदेव क्याम्पसबाट डिग्री सकेकी थिएँ, नातागोताबाट पनि कुरा अघि बढेपछि एरेन्ज म्यारिज भएको हो ।

० उहाँ त्यसबेला के गर्नुहुन्थ्यो ?
– अर्थ मन्त्रालयमा शाखा अधिकृत हुनुहुन्थ्यो । विवाहलगत्तै हामी जागिरको सिलसिलामा मनिला दुई वर्ष बस्यौं ।

० माइतीको पृष्ठभूमि पनि सुनाइदिनु होस् न ?
– हामी दिङ्गलाका अधिकारी हौं । हजुरबुवा, बुवा पनि जागिरे हुनुहुन्थ्यो । उहाँहरू आयुर्वेदसम्बन्धी डाक्टर भएर सरकारी सेवामा हुनुहुन्थ्यो । परिवारकी जेठो सन्तान हुँ, एउटा भाइ डाक्टर छ । अर्को भाइ अमेरिकामा बसोबास गर्छ ।

० विवाहपछि ?
– संयुक्त परिवार थियो, देवरहरू हुनुहुन्थ्यो । विवाहलगत्तै श्रीमान् एडीबीमा काम गर्न मनिला जानुभयो, त्यहाँ मैले एमबीए ज्वाइनँ गरे । त्यही हाम्री छोरी जन्मिन् । देवरहरू सक्षम हुँदै गएपछि आ–आफ्नो बाटो लागे । आमा हामीसँगै हुनुहुन्थ्यो, तसर्थ मूल घर हाम्रो हो । घर व्यवहार र बालबच्चा हुर्काउँदा हुर्काउँदै समय बितिरहेको छ ।

० कति छन् बालबच्चा ?
– दुई छोरी, एक छोरा छन् । ठूली छोरी दिल्ली विश्वविद्यालयमा उच्चशिक्षा हासिल गरिरहेकी छन् भने साना दुईवटा आरकेपुरमा अध्ययन गर्दैछन् ।

० नेपालको पढाइ नराम्रो भएर भारत लैजानु भएको हो ?
– होइन, नेपालको पढाइलाई कमजोर आक्न मिल्दैन, तर पैसाको तुलना गर्दा लगभग उस्तै पर्न आउँछ । बच्चालाई बाहिर लगेर पढाइयो भने आत्मनिर्भर बन्न सिक्छन् । धर्म संस्कृति मिल्ने ठाउँ भनेर हामीले भारतमा पढाएका हौं । ठूली छोरीले आफंै कलेज खोजेर गएकी हुन् ।

० नेपालमा भन्दा सस्तो हो ?
– ट्युसन फि नेपालमा भन्दा सस्तो लाग्यो, तर होस्टल र अन्य शुल्क उस्तै लाग्यो ।

० श्रीमान् उच्च प्रशासक र मन्त्रीसमेत बन्नुभयो ?
– हो, उहाँहरूले दुवै अवसर पाउनुभयो । क्षमताले सचिव हुनुभयो भने मन्त्रीमा चाहिँ चिठ्ठा प-यो ।

० उहाँका लेखनबारे के भन्नुहुन्छ ?
– शब्दहरू मीठास हुन्छन्, उहाँले लेखेका गीत सुन्दा आनन्द लाग्छ ।

० पहिलो स्रोता हो तपाईं ?
– होइन, अरु जस्तै सार्वजनिक स्रोता नै हुँ । कहिलेकाहीँ सरप्राइज पाइन्छ । त्यसो भन्दैमा उहाँ मप्रति कठोर चाहिँ हुनुहुन्न, रसिक व्यवहार नै गर्नुहुन्छ । कहिलेकाहीँ कार्यक्रममा लैजानु हुन्छ, गीत रेकर्डिङमा, बाहिर घुम्न, खाना खान तथा फिल्म हेर्न लैजानु हुन्छ । उहाँ फिल्ममा एकदमै रुचि राख्नुहुन्छ ।

० उहाँको खानपिन ?
– सादा र सरल हुनुहुन्छ, दुध हालेको चिया अलि बढी पिउने बानी छ, त्यो पनि कम गर्दै लैजानु भएको छ । अरु अम्मली उहाँको केही पनि छैन ।

० मन्त्री, सचिव हुनुभएका श्रीमान्ले पैसा त धेरै कमाउनु भयो होला नि ?
– अतिरिक्त आयआर्जनलाई हामीले कहिल्यै पनि प्राथमिकतामा राखेनौं । राज्यले दिएको तलबभत्तामा चित्त बुझायौं । पैसा अपरिहार्य हो, त्यसो भन्दैमा हामीले पैसाप्रति आशक्ति देखाएनौं ।

० कमाउनुपर्छ भनेर दबाब दिनुभएन ?
– मेरो पहिलो प्राथमिकता इज्जत हो, त्यसबाहेक दायाँबायाँ मैले केही जानेकी छैन । मैले मेरी आमाबाट सिकेकी हुँ । भएकोलाई आमाले जसरी बाँडचँुड गरेर पु¥याउनुभयो, मैले पनि त्यही गरें । पैसा चाहियो भनेर मैले कहिल्यै झगडा गरिनँ ।

० सुन्दर घर बनाउन श्रीमतीले कस्तो व्यवहार गर्नुपर्ने रहेछ ?
– श्रीमती मात्र होइन, श्रीमान्ले पनि पुरुष हुँ भन्ने घमण्ड त्याग्नुपर्छ । महिलाहरू आत्मनिर्भर बन्नुपर्छ, तर आत्मनिर्भर छु भनेर फुर्ति लगाउनु हुँदैन । यो दुईवटा इगो त्याग्न सकियो भने सहयात्रा सरल र सहज बन्दै जान्छ ।

० हाम्रो समाज चाहिँ कता जाँदैछ ?
– सन्तान कुपात्र जन्मे पनि आमा सुमाता हुन्छिन् भन्ने हाम्रो मान्यता छ । तर आमा पनि सुमाता नरहने स्थिति सिर्जना हुँदैछ । छोराछोरीका लागि घर पहिलो पाठशाला हो, तर त्यो पाठशाला कमजोर बन्दै गएको छ ।

० किन त्यस्तो भएको ?
– सन्तानलाई शिक्षा दिने अभिभावकहरूसँग समय अभाव हुँदै गयो । आमाबुवाले सन्तानलाई दिने शिक्षा अभाव हुँदै गयो । छोराछोरीलाई दिने समय नयाँ पिआर बनाउन अभिभावक लाग्न थाले, जसले गर्दा सन्तान अभिभावकको माया र शिक्षाबाट वञ्चित हुँदै गइरहेको छ ।

० यसको परिणाम के हुन्छ होला ?
– वृद्ध भएपछि आफ्ना सन्तानले हेर्दैनन्, बाल्यकालमा अभिभावकले हेरेको भएपो वृद्ध अवस्थामा सन्तानले हेर्छ ? उनीहरू वृद्धाश्रम जानुको विकल्प हुँदैन ।

० महत्वाकांक्षा नराख्ने हो भने महिला कसरी अघि बढ्न सक्छन् ?
– महत्वाकांक्षा नराख्नु म भन्दिनँ, तर व्यावहारिक बन्न बिर्सनु हुँदैन । अन्यत्र जहाँ व्यस्त भए पनि गुणस्तरीय समय परिवारका लागि पनि छुटाउनुपर्छ, ताकि त्यसले बालबच्चाको पहिलो पाठशाला घरको जग बलियो बन्छ ।