१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा सम्झिए भानु

नेपालब्रिटेन डट कम्
२६ असार २०७८, शनिबार ०१:५१

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ९ जुलाइका दिन आदिकवि भानुभक्त आचार्यको २००८ औं जन्मजयन्ती मनाइएको छ ।

नेपाल, भारत र बेलायतका सर्जकहरूको उत्साहवर्धक सहभागिता रहेको उक्त ‘जुम’ समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको साधना गरेर आदिकवि भानुले त्यतिबेला समाजको सोच बदलेको चर्चा गरे ।

राजदूत रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि साहित्य अनुसन्धान र अन्वेषणतर्फ नेपाली साहित्य विकास परिषद्संगै राजदूतावासबाट सक्दो सहयोग र सहकार्य अगाडि बढाउने अठोट समेत व्यक्त गरे ।

समारोहलाई नेपालबाट संवोधन गर्दै विशिष्ट अतिथि परिषद्का नेपाल च्याप्टरका सल्लाहकार प्रा. डा. देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणको शैलीमा नेपाली भाषामा कविताहरू लेखेर त्यतिखेरको सामाजमा नेपाली साहित्यलाई जनस्तरसम्म पुयाएको स्मरण गरे । सामाजिक, सांस्कृतिक र साहित्यक रूपले समाजको एकीकरण र चेतनाको रूपान्तरण गर्न आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको चर्चा गर्दै प्रा. डा. सुवेदीले बेलायतमा परिषद्का साहित्यिक गतिविधि प्रसंशनीय रहेका उल्लेख गरे ।

परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार, यती संस्थाका पूर्व अध्यक्ष बौद्धिक समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीइ) ले बेलायतमा नेपाली भाषा साहित्यको समृद्धि गर्न परिषद्को योगदान ऐतिहासिक र महत्वपूर्ण रहेको चर्चा गर्दै रामायणको काव्यिक कथनबाट समाजको एकीकरण गर्न भानुभक्तको योगदान महत्वपूर्ण रहेको बताए ।

सम्वोधनका क्रममा यती अध्यक्ष तथा परिषद्का वरिष्ठ सह-अध्यक्ष ध्रुव केसीले बेलायतमा नेपाली साहित्यिक चहलपहल परिषदको स्थापना पश्चात नै हुँदै आएको स्मरण गर्दै भानुको सम्झना गरेर परिषदले नेपाली भाषा साहित्यलाई जीवन्त राखेको धारणा व्यक्त गरे ।

त्यसैगरी परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र समृद्धि, सर्जकहरूको खोजी एवं प्रोत्साहन गर्ने अभिप्राय बोकेर सन् १९९५ मा तत्कालिन राजदूत सूर्यप्रसाद श्रेष्ठको सहमति र सहकार्यबाट नेपाली साहित्य विकास परिषद् यूके स्थापना भएको चर्चा गर्दै परिषदको स्थापनाकाल देखि नै महामहिमहरुबाट सक्रिय संरक्षकत्व र सहभागिता रहँदै आएको उल्लेख गरे ।

तत्कालिन् नेपाली समाजमा आदिकवि भानुले रामायणको सरल नेपाली भाषाको काव्यिक शैलीमा अनुवाद गरेर एकातर्फ नेपाली साहित्यलाई स्थापित गरे भने अर्को तर्फ समाजको चेतनाको विकास र सामाजको एकीकरण गरेको उनको धारणा थियो ।

सभापतिको आसनबाट परिषद्का साहित्यिक गतिविधिबारे चर्चा गर्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले साहित्य समाजको ऐना रहेको र त्यही ऐना हेरेर आदिकवि भानुले त्यसबेलाको समाजलाई मजबुत बनाएका थिए र हामी त्यही बाटोमा हिँडिरहेका छौं भन्ने विचार राखेका थिए ।

समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार हरिसिंह थापाले परिषद्को स्थापनाकाल देखि नै आदिकविको जन्मजयन्ती मनाउँदै आएर परिषद्ले आदिकविले दिएको प्रेरणा फैलाउने कार्य गर्दै आएको बताए ।

आरम्भमा स्वागत मन्तव्य दिंदै परिषद्की उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठले भानुभक्त नेपाली साहित्यका अग्रिणी सर्जक मात्र नभई सामाजिक चेतनाका सम्वाहक पनि हुन् भनिन् ।

जनसमाजले बुझ्ने गरी सरल भाषामा रामायणलाई नेपाली घरदैलोमा पुरयाएर आदिकविले समाजमा नैतिक अनुशासन, सामाजिक सद्भाव, भातृत्व प्रेम, एकताको भावना आदि जागृत गराएको भन्दै उपाध्यक्ष डा. श्रेष्ठले बेलायतमा परिषद्ले विगत २६ वर्षदेखि भानु जयन्ती निरन्तररूपमा मनाउँदै आएको चर्चा गरिन् ।

कार्यक्रममा नेपाली साहित्य विकास परिषद् यूकेका महासचिव वीरेन्द्र कुँवर, नेपाल च्याप्टरका महासचिव वरिष्ठ पत्रकार रेडियो नेपालका समाचार वाचक हरिशरण लामिछाने र एनआरएनए यूके सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीका अध्यक्ष जीत रानाभाटले कार्यक्रम सञ्चालनका क्रममा आ आफ्ना मन्तव्य राख्दै आदिकवि भानुभक्तको कृति र योगदानबारे चर्चा गरे ।

समारोहमा यती नेपाली एसोसिएसन यूकेका पदाधिकारी, नेपाली राजदूतावास परिवार, कोसेली नेपाली सांस्कृतिक परिवार यूकेकी अध्यक्ष कलाकार गायिका शर्मिला सिंह, एनआरएनए यूकेकी उपाध्यक्ष श्रीमति रोजिना प्रधान राई, स्याङ्जाली समाज यूकेका अध्यक्ष डेभिड गुरुङ र जानकी माता धार्मिक संघ कोलकत्ता भारतका पदाधिकारीको उपस्थिति थियो ।

परिषद्का कोषाध्यक्ष मनोज अन्जानले सारंगीमार्फत मंगल धुन र परिषद्का पूर्व अध्यक्ष वरिष्ठ कवि हरिसिंह थापाले रामायण वाचन गरेर आरम्भ भएको उक्त समारोहमा मन्तव्य र कविता वाचनको बीच बीचमा सारंगी र हारमोनियमबाट विभिन्न गीतका धुन प्रस्तुत गरिएका थिए भने श्री जानकी माता धार्मिक संघ कोलकत्ता भारतकी सांस्कृतिक सचिव कलाकार गायिका सुश्री सन्तोषी सिंहले आदिकवि भानुप्रति समर्पित गीत हार्मोनियम बजाएर गाएकी थिइन् ।

त्यसैगरी समारोहमा आदिकवि भानुका कविताहरूलाई सङ्गीतवद्ध गरेर कोसेली नेपाली सांस्कृतिक परिवारका अध्यक्ष परिषदका सल्लाहकार वरिष्ठ कलाकार कवि मदन थापा, परिषद्का उपाध्यक्ष तथा कोसेलीका पूर्व अध्यक्ष कवि कलाकार वसन्त रायक्षेत्री र कलाकार गायक प्रमोद शर्माले सुमधुर गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

परिषद्का कोषाध्यक्ष कवि कलाकार मनोज अन्जान र परिषद्का कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक समूह यूकेका अध्यक्ष कवि कलाकार डम्बरसिंह ‘प्रयास’ ले सारङ्गीबाट मङ्गल धुन र विभिन्न लोक धुन प्रस्तुत गरे ।

समारोहमा परिषदको बेलायत र नेपाल च्याप्टरका पदाधिकारीहरू लगायत विश्व नेपाली साहित्य महासंघ दक्षिण बेलायत शाखाका सल्लाहकार औतारी साइँला, साहित्य चैतारी यूकेका संयोजक वरिष्ठ साहित्यकार वासु शर्मा र विश्व नेपाली साहित्य प्राज्ञ प्रतिष्ठान यूके शाखाकी महासचिव श्रीमती मञ्जु भण्डारी खरेल र जानकी माता धार्मिक संघ कोलकत्ता भारतका सल्लाहकार सन्तोष सिंह र सांस्कृतिक सचिव सन्तोषी सिंहबाट संस्थागत सिर्जनात्मक उपस्थिति थियो भने कोलकता भारतबाट साहित्य तथा गीतसङ्गीतको संस्थागत संयोजन श्री जानकी माता धार्मिक संघ कोलकत्ता भारतका सभापति गुञ्जदास श्रेष्ठबाट भएको थियो ।

एनआरएनए यूके सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीका अध्यक्ष जीत रानाभाटले सञ्चालन गरेको उक्त समारोहको सभापतित्व परिषद्का अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठले गरेका थिए । सो क्रममा स्वागत भाषण उपाध्यक्ष डा. सुधा श्रष्ठ र कार्यक्रम सञ्चालन महासचिव वीरेन्द्र कुँवर र नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछानेले गरेका थिए ।

समारोहमा नेपाल, भारत र बेलायतका २९ जना कवि कवयित्रीहरु गंगा लिगल, ललिता ‘दोषी’, गीता रेग्मी, कृष्णप्रसाद अर्याल, राजेशजंग शाह, हरिशरण लामिछाने, सुश्री सन्तोषी सिंह, सन्तोष सिंह, वसन्त रायक्षेत्री, प्रतिमा केसी, वासुदेव सापकोटा, दीक्षान्त भट्टराई, वाचस्पति रेग्मी, रेशम अर्याल, हिन्दमैञा वैद्य, घनबहादुर थापा मगर, डा. सुधा श्रेष्ठ, मञ्जु भण्डारी, अहिल्या कुँवर, मोहन आचार्य ‘जलद’, औतारी साइँला, डम्बर सिंह ‘प्रयास’, मनोज अन्जान, वासु शर्मा, ध्रुव केसी, हरिसिंह थापा, सुरेशजंग शाह र कोमल प्रसाद श्रेष्ठ मल्लले कविता वाचन गरेका थिए ।