१२ बैशाख २०८१, बुधबार
Follow Us

छक्का पञ्जा चलचित्र पाइरेसी गरेको आरोप लागेका युवा मृत फेला

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार १४:०२

काठमाडौं । ‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवा मृत फेला परेका छन् । नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौँ विजयचोकस्थित डेरामा मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै गरेको देखिएको जानकारी दिनुभयो ।
दीपकराज गिरी निर्माता तथा दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ को पाइरेसी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेसँगै केही दिनअघि सुवेदीलाई टेकुमा बोलाएर सोधपुछ गरी प्रहरीले छाडेको थियो । मृतक सुवेदीको कोठाबाट ‘सुसाइट नोट’ पनि भेटिएको छ ।

मृत्युका कारण अरु हुनसक्छ – प्रमुख खनाल
महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ‘छक्का पञ्जा’ चलचित्रको पाइरेसीका विषयमा मृतक सुवेदीसहित अन्य चार जनालाई १० दिनअघि महाशाखामा सोधपुछका लागि बोलाइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले १० दिनअघि सोधपुछ गरेर चलचित्र निर्माण पक्ष र आरोपी दुवै पक्षबीच सहमति गराएर छाडेका हौँ । तर यो विषय हामीले कतै सार्वजनिक नगरेकाले सोही कारण आत्महत्या गरेका भन्ने कुरामा आधार छैन ।”
सुवेदी हिजोमात्रै नवलपरासीस्थित आफ्नो घरबाट फर्किएको तथा प्रहरीले सोधपुछ गरेको १० दिन भइसकेकाले सो बीचको अवधिमा अन्य केही घटना भएको हुन सक्ने खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही महिनाअघि नै मृत्यु भएका चलचित्र सम्बन्धित एक व्यक्तिसँग ‘छक्का पञ्जा’को सिडी रहेछ, उनको मृत्युपछि उनका छोराले सो सिडी साथीभाइलाई हेर्नका लागि बाँडेछन् । सोही क्रममा पाइरेसी भएको देखियो ।”
सो सिडी साथीभाइमार्फत मृतक सुवेदीसम्म पुगेको देखिएकाले अनुसन्धानका क्रममा बोलाइएको तर उनको मुख्य भूमिका नदेखिएपछि छोडिएको प्रमुख खनालको भनाइ छ ।