१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकास : सभापति देउवा

नेपालब्रिटेन डट कम्
१ माघ २०७३, शनिबार १३:२१

पोखरा । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकासले गति लिने बताउनुभएको छ ।

सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा आजदेखि सुरु भएको सिक्लेस माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गर्दै उहाँले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

तीनवटै तहको निर्वाचन गर्न मधेसी मोर्चालगायत असन्तुष्ट जनजातिका मागलाई सम्बोधन गर्न संविधान संशोधन जरुरी रहेको र व्यवस्थापिका–संसद्मा टेबुल भइसकेको संविधान संशोधन प्रस्ताव पास गर्न सबै राजनीतिक दलको सहयोगको खाँचो रहेको उहाँको भनाइ थियो । सभापति देउवाले पर्यटकीय क्षेत्र सिक्लेसको विकासमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्र्रेसका नेता शुक्रराज शर्मा, नेकपा (माओवादी केन्द्र)का राजकाजी गुरुङलगायतका वक्ताले बोल्नुभएको थियो । सभापति देउवाले आजै सो ठाउँमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालय र सङ्ग्रहालयको निरीक्षणसमेत गर्नुभएको थियो । चार दिनसम्म चल्ने सो मेलामा भलिबल, बास्केटबल, छेलो फाल्ने प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।