१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले दिए बधाई  

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७८, सोमबार ०४:५७

 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आइतबार संसद्मा विश्वासको मत पाएसँगै मोदीले देउवालाई बधाई दिएका हुन् । यसअघि प्रधानमन्त्रीमा नियुक्त भएसँगै भारतीय प्रधानमन्त्रीले बधाई दिने गरे पनि यसपालि भने ढिला गरी बधाई आएको हो ।

मोदीले नरेन्द्र मोदी नामको ट्विटर ह्यान्डलबाट बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना । म हाम्रो सबै क्षेत्रमा रहेको अनौठो साझेदारीलाई बढाउन र नागरिकको बीचमा रहेको गहिरो सम्बन्धलाई मजबुत बनाउन तपाईंसँग सहकार्य गर्न तयार छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार १६५ जना सांसदले विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवाको विपक्षमा ८३ मत खस्यो भने ‘मत दिन्नँ’ भन्ने पक्षमा १ मत खसेको थियो । देउवालाई एमालेका २२ जना सांसदले समेत विश्वासको मत दिएका थिए ।

देउवाले साउन २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सर्वोच्च अदालतको साउन २८ गतेको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिपल्ट देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाएकी थिइन् ।