१३ बैशाख २०८१, बिहीबार
Follow Us

टाेकियाे ओलम्पिक सुरु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७८, शुक्रबार १९:५९

टाेकियाे । टोकियो ओलम्पिक २०२० का लागि सहभागी खेलाडी र पदाधिकारी ओलम्पिक भिलेजमा आइसकेका छन्। टोकियो ओलम्पिकआजबाट सुरु हुँदै छ। प्रतियोगिताको सफल आयोजना तथा जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ। कोभिड १९ संक्रमणको त्रास कायमै रहेकाले टोकियोमा आंशिक स्वास्थ्य संकटकाल जारी छ।

विदेशी समर्थकलाई पूर्ण रूपमा रोक लगाइएको टोकियो ओलम्पिक २०२० का प्राय सबै जसो खेलस्थलमा स्थानीय दर्शकलाई समेत रोक लगाइएको छ। टोकियो ओलम्पिक रंगशालामा शुक्रबार हुने उद्घाटन समारोहमा करिब ९ सय जनाको मात्र सहभागिता रहनेछ। तीमध्ये १ सय ५० जना मात्र जापानी नागरिक हुनेछन्।कोभिड १९ महामारी नहुँदो हो त टोकियो ओलम्पिक समापनको एक वर्ष भइसक्ने थियो। महामारीकै कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० अन्ततः आजबाट औपचारिक रूपमा सुुरु हुँदै छ।

ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो नै पहिलो पटक थियो। यसबीच प्रतियोगिता पुनः सर्ने खबर पनि सार्वजनिक नभएका होइनन्। यद्यपि गत वर्षझैँ यस वर्ष पनि जापानी नागरिक ओलम्पिक आयोजनाप्रति सन्तुष्ट छैनन्। ‘सन् १९६४ मा आयोजना गरेको ओलम्पिक र अहिले आयोजना हुन लागेको ओलम्पिकमा धेरै फरक छ। त्यस समयमा जापानी नागरिकमा कुनै चाडपर्वजस्तै उत्साह थियो,’ ८० वर्षीया मिचिको फुकोईले भनिन्,‘अहिले असन्तुष्टिका बीच प्रतियोगिता आयोजना गरिँदै छ।’ प्रतियोगिता कसरी सफल आयोजना हुन्छ भन्ने सबैको चासो बनेको छ। जापानका अधिकांश सहरमा टोकियो ओलम्पिक २०२० को झन्डा फहराइएको छ भने सडकका भित्ताका साथै सार्वजनिक बसमा पनि ओलम्पिक र पारा ओलम्पिकको मस्कट देख्न सकिन्छ।

कोभिड १९ संक्रमण डरकै कारण यस पटक केही चर्चित खेलाडीले टोकियो ओलम्पिकबाट नाम फिर्ता लिएका छन्। कोभिड १९ संक्रमणको दर बढ्दो मात्रामा रहेकै कारण अन्तिम समयमा आएर स्थानीय समर्थकलाई समेत मैदान प्रवेशमा रोक लगाइएको थियो। उद्घाटन सत्र राति ८ बजे सुरु हुनेछ र सो समयमा सबै रेस्टुरेन्ट बन्द गर्दै मदिरा बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।साइरा ओनुमाले लटरीमार्फत ओलम्पिक टिकट प्राप्त गरे पनि उनी खेलदौरान मैदानमा उपस्थित हुने वा नहुनेमा आफैँ अन्योलग्रस्त छिन्।

टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेपछि गत वर्ष नै टिकट खरिद गरेका केही समर्थकमाझ लटरी गराइएको थियो। ‘मैले आलम्पिक स्टेडिमयममा हुने एथलेटिक्सतर्फ अन्तिम स्पर्धाको टिकट प्राप्त गरें,’ २९ वर्षीया ओनुमाले भनिन्, ‘समर्थकलाई मैदान प्रवेश नगराउने भन्ने निर्णयले म निकै निराश छु। म खेलदौरान मैदानमा उपस्थित हुने वा नहुने भन्नेबारे आफैँ अन्योलमा छु। मलाई प्रतियोगिता आयोजना हुँदै छ भन्नेमा पनि कुनै खुसी छैन।’