१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंको तापक्रम घट्दो, जनजीवन कष्टकर

नेपालब्रिटेन डट कम्
२ माघ २०७३, आईतवार १३:१६

काठमाडौं । यतिखेर काठमाडौँको मौसम चिसो छ । बिहान र बेलुका साबिकरुपमा सधैँ चिसो हुने काठमाडौँ केहि दिन यता दिउँसो पनि चिसो हुँदै गइरहेको छ । तापक्रम दिनानुदिन घट्दो छ भने मौसम पुर्वानुमान महाशाखाले चिसो अझ बढ्ने जनाएको छ ।
बिहान बेलुका चिसो हुने काठमाडौँ केहि दिन देखि दिउँसो पनि चिसोले गर्दा दैनिक जीवनमा समस्या उत्पन्न गरिरहेको छ । शनिबार राजधानीको न्युनतम तापक्रम यो वर्षको अहिलेसम्मको न्युन विन्दुमा पुग्यो, ०.४ डिग्रीमा । आइतबार त झन् न्युनतम तापक्रम ०.१ डिग्री बढेको छ । उच्चतम तापक्रम पनि शनिबारकोभन्दा आइतबार बढेको छ ।
शनिबार राजधानीको उच्चतम तापक्रम १६ डिग्री थियो भने आइतबार १७ डिग्री पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले राजधानीमा अझैं हप्तादिन जति न्युनतम तापक्रम ०–१ डिग्रीको बीचमा रहने अनुमान गरेको छ ।
काठमाडौंको आकाशमा केही दिन यता बादल छैन, बादल नभएपछि हिमालतिरको चिसो बोकेको हावा राजधानी आएकाले चिसो बढेको महाशाखाको भनाई छ । महाशाखाका अनुसार चिसो बोकेको पश्चिमी वायु र हिमालतिरबाट आउने हावालाई बादलले छेक्दा राम्ररी बहन नपाएको र त्यसो हुँदा राति तापक्रम धेरै घट्दैन । रात लामो हुने र हावा चल्ने भएपछि दिउँसो बढेको तापक्रम पनि राति स्वाट्टै घट्ने गरेको महाशाखाको भनाई छ ।
बिहानै घाम लागे पनि राति घटेको तापक्रम बढ्न समय लाग्ने भएकाले केहि दिनदेखि बिहान चिसो हुने गरेको छ ।