७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेटो, रसिया, मर्केल, बेलायत पलायनका विषयमा ट्रम्पका भनाइ

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १०:३५

बर्लिन । नेटो काम नलाग्ने भएको, जर्मनीका एङ्गेला मर्केलले शरणार्थीका सम्बन्धमा ठूलो गल्ती गरेको, बेलायत युरोपेली युनियनबाट पलायन ठूलो कुरा भएको र अमेरिकाले रसियासँग सम्झौता गर्नसक्ने धारणा डोनाल्ड ट्रम्पसले आइतबार युरोपेली आमसञ्चारसँग व्यक्त गर्नुभएको छ । अमेरिकाका ४५ औँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्ने पाँच दिन अगाडि अरबपति तथा लोकप्रिय नेता ट्रम्पले बेलायती समाचारपत्र द टाइम्स तथा जर्मनीको बिल्डलाई दिनुभएको अन्तर्वार्तामा युरोपेली सहयोगीका विषयमा अनेकौँ विवादास्पद धारणा व्यक्त गर्नुभएको छ । उहाँले रसियासँग मैत्रीको हात अगाडि बढाउनुभएको छ । उहाँका पूर्ववर्ति बराक ओबामाको कार्यकालमा रसियाको युक्रेनमा संलग्ना, सिरियाली युद्ध तथा अमेरिकी निर्वाचनमा प्रभावका लागि साइबर आक्रमणको आरोपमा मस्कोमाथि अनेकौँ प्रतिबन्ध लगाइएको थियो ।
द टाइम्सले ट्रम्पले रसियासँग केही राम्रो सम्झौता गर्न सकिन्छ कि हेरिने बताउनुभयो भनि उद्धरण गरेको छ । अमेरिकी राष्ट्रपति पदमा विजयी ट्रम्पले पारमाणविक भण्डार घटाउने तथा मस्कोविरुद्ध प्रतिबन्ध हटाउने विषयमा सम्झौता गर्नसकिने बताउनुभयो । उहाँले थप विवरण दिनुभएन । यसअघि ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्नुभएको थियो र उहाँले प्रतिबन्धले रसियालाई दुःख दिएको र आफूले धेरै व्यक्तिलाई फाइदा पुग्ने काम हुनसक्ने सोचेको बताउनुभयो । युक्रेनमा हस्तक्षेप गरेको भनी वासिङटनका युरोपेली सहयोगीले रसियामाथि प्रतिबन्ध लगाएका थिए । डिसेम्बर १९ मा यसलाई नविकरण गरिएको थियो ।

नेटो काम नलाग्ने भयो
रसियाले क्राइमियालाई आफूमा गाभेपछि तथा युक्रेनमा हस्तक्षेप गरेपछि डराएका नेटोका मुलुकहरूलाई ट्रम्पको भनाइले अझै तर्साउनेछ । उहाँले नेटो काम नलाग्ने भएको बताउनुभयो । उहाँले लन्डनबाट प्रकाशित हुने द टाइम्स तथा जर्मनीमा सबैभन्दा बढी बिक्री हुने दैनिक पत्रिका बिल्डलाई आफूले धेरै अगाडि नेटोमा समस्या भएको बताएको जानकारी दिनुभयो ।

उहाँले एकातर्फ यो संस्था धेरै अगाडि तयार भएको र अर्कोतर्फ मुलुकहरूले आफूले तिर्नुपर्ने रकम नतिरेको बताउनुभयो । निर्वाचन अभियानमा ट्रम्पले मुलुकको प्रतिरक्षाका लागि अमेरिकाले खर्च गरेको रकम प्राप्त नगरेमा नेटोका सहयोगीलाई सहयोग गर्ने कुरामा आफूले दुईपटक सोच्ने बताउनुभयो ।
ट्रम्पको विजयपछि नेटोका महासचिव जेन्स स्टलटेनबर्गले करिब ७० वर्ष सम्म यो गठबन्धन आन्ध्रमहासागरको वरपर सुरक्षाकाका लागि आधार भएको बताउँदै नयाँ चुनौतीको समयमा यो विशेष आवश्यक भएको बताउनुभएको थियो ।
हालका वर्षमा अट्ठाइस मुलुकको यस गठबन्धनमा खर्च कसले बेहोर्ने भन्ने विषयमा विवाद हुने गरेको छ । अमेरिकाले यस संस्थाको ७० प्रतिशत खर्च बेहोरेको छ । सन् २०१४ मा युक्रेनमा रसियाको हस्तक्षेप र मध्यपूर्व तथा उत्तर अफ्रिकामा उथलपुथलपछि नेटोका नेताहरूले प्रतिरक्षा खर्च कटौती गर्ने कुरामा परिवर्तन गरी आर्थिक उत्पादनको दुई प्रतिशत प्रतिरक्षामा खर्च गर्ने सहमति गरेका थिए । आइतबारको अन्तर्वार्तामा ट्रम्पले मुलुकहरूले तिर्नुपर्ने रकम नतिरेको बताउनुभयो । उहाँले पाँच मुलुकले मात्र आफूले तिर्नुपर्ने कुरा तिरेको र त्यो पर्याप्त नभएको बताउनुभयो ।

बेलायती पलायन
ट्रम्पले बेलायतको युरोपेली युनियनबाट पलायन ठूलो कुरा हुने बताउनुभयो । उहाँले युरोपबाट हटेको बेलायतसँग व्यापार सम्झौतालाई आफूले समर्थन गर्ने र यो दुबै पक्षका लागि फाइदाजनक हुने बताउनुभयो । उहाँले यस कुरालाई छिटो र सही रूपमा गर्न काम गरिने बताउनुभयो । उहाँले जनवरी २० मा राष्ट्रपतिको पदभार सम्भालेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेसँग छिटै भेट गर्ने बताउनुभयो ।
ट्रम्पले आप्रवासी तथा शरणार्थीका कारण अन्य मुलुकले पनि भविष्यमा युरोपेली युनियन छोड्ने बताउनुभयो । उहाँले शरणार्थीको समस्या नभएको भए बेलायत युरोपेली युनियनबाट पलायन नहुने धारण व्यक्त गर्नुभयो । जर्मनीले ठूलो सङ्ख्यामा शरणार्थी लिएकोमा मर्केलको आलोचना गर्नुभयो । उहाँले यसले सुरक्षामा जोखिम दिएको बताउनुभयो । उहाँले गैरकानुनी रूपमा, कहाँबाट आएको भनी थाहा नभएका व्यक्तिलाई लिनु ठूलो गल्ती भएको धारणा व्यक्त गर्नुभयो । उहाँले चान्लर मर्केलप्रति आफ्नो ठूलो सम्मान भएको पनि बताउनुभयो ।
सन् २०१५ मा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले आठ लाख ९० हजार शरणार्थीका लागि ढोका खोलेको थियो । यसै कारण यस मुलुकमा आप्रवासीविरोधी अभियान अगाडि बढेको थियो । सन् २०१६ मा यो सङ्ख्या दुई लाख ८० हजारमा झरेको जानकारी सरकारले दिएको छ ।