१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नयाँशक्ति बेलायतद्धारा लन्डन दूतावास मार्फत सरकारको ध्यानाकर्षण

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १६:४६

लन्डन । बेलायतस्थित नयांशक्ति पार्टीको भातृसंस्था अन्तराष्ट्रिय नेपाली समाजले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । युरोप संयोजक भोला खनालको संयोजकत्वमा अन्तराष्ट्रिय नेपाली समाज युकेको एक टोलीले नेपाली दूताबास लण्डन मार्फत सोमबार एक ज्ञापन पत्र मार्फत उक्त ध्यानाकर्षण गराएको हो ।

नयाँ शक्तिले सरकारलाई देशको समस्याह तथा राजनैतिक बिषयमा ध्यानाकर्षण गर्ने शिलशिलामा पचहत्तरै जिल्ला र विदेशस्थित नेपाली दूतावास मार्फत ज्ञापनपत्र बुझाएको छ ।
टोलीले बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीलाई सो ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।

समाजका तर्फबाट युवा संयोजक बीरेन्द्र श्रेष्ठ, मिडिया संयोजक रुद्र ढकाल, महासचिब जगन कार्की तथा सह-संयोजक सुरज मास्के लगायतको टोली नेपाली दूतावास लन्डन पुगेको थियो । सो अवसरमा नेपाली दूतावास लन्डनका प्रवक्ता शरद आरणको समेत उपस्थिती थियो ।

ज्ञापन-पत्रको पूर्णपाठ

सम्माननिय प्रधानमन्त्री
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरबार काठमाडौँ ।
मार्फत : नेपाली राजदुतावास बेलायत
विषय : ज्ञापन पत्र ।
नयाँ संविधान निर्माण भएपछि संक्रमणकालको अन्त्य भई राजनीतिक स्थायित्व र विकास निर्माणले गति लिने आम नेपाली जनताको अपेक्षामा तुषारापात भएको छ । दलहरुको चरम सत्ता स्वार्थका कारण उत्पन्न दलिय झगडाले राष्ट्रिय पुर्ननिर्माण,संविधान कार्यान्वयन,राष्ट्रिय स्वाधिनता र जनजिविकाको सवाल ओझेल पर्न गएका छन् । असन्तुष्ट दल र समुदायको माग सम्बोधन गर्दै संविधानमा आवश्यक संशोधन सहित निर्धारित मितिमा ३ वटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने मुख्य अभिभारा बाट मुख्य राजनीतिक दलहरु र सरकार भाग्न खोज्दैछ ।अन्तराष्ट्रिय नेपाली समाजले विगतमा पनि जनताका प्रत्येक्ष सरोकारका विषय समेटेर पटक पटक प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका थियौँ । तर,जनताको मुद्धा र सरोकारका विषयहरु तर्फ सरकारको खासै ध्यानाकर्षण भएको देखिएन । जनता सँग जोडिएका राजनीतिक,सामाजिक विषयहरुलाई लिएर पुनः एकपटक प्रधानमन्त्री समक्ष यो ज्ञापनपत्र पेश गरेका छौँ ।
१. नेपालको शासकिय स्वरुपमा परिवर्तन नगरी राजनीतिक स्थायित्व,विकास र समृद्धि सम्भव छैन । नयाँ संविधानले पनि संसदीय व्यवस्थाको विकल्प खोज्न नसक्दा राजनीतिक स्थिरता कायम हुनसकेको छैन । वि.स.२००७ सालमा निरंकुश राणा शासनको पतन पछि देश लगातार संक्रमणकाल बाट गुज्रिरहेको छ । निर्दलिय पञ्चायती व्यवस्थाको उदय र पतन,लोकतन्त्रको पुर्नस्थापना,राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना,एकात्मक राज्यलाई संघिय प्रणालीले प्रतिस्थापन गरिसक्दा समेत राजनीतिक स्थिरता प्राप्त हुन सकेको छैन । गएको ६५ वर्षमा ५० भन्दा वढी सरकार गठन र विघटन

हुनु यहि अस्थिर राजनीतिको उपज हो । वर्तमान संसदीय प्रणाली बाट राजनीतिक स्थायित्व,विकास र प्रगति सम्भव देखिदैँन । संसदीय प्रणालीकै गलत अभ्यासका कारण नेपालमा पटक पटक निरंकुशता जन्मने गरेको छ । त्यसर्थ वर्तमान शासकिय स्वरुपमा परिवर्तन गरि जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद रहने व्यवस्था सबैभन्दा उत्तम विकल्प हो । संविधान संशोधनको क्रममा यो विषयलाई समेत समाविष्ट गर्न सरकार समक्ष जोडदार माग गर्दछौँ ।
२. भ्रष्टाचार आजको समाजको महारोग बनेको छ । राजनीतिक दलहरुकै आड,भरोसा र संरक्षणमा भ्रष्टाचारले मौलाउने मौका पाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयम् विवादित र कमजोर बनेको छ । त्यसकारण भ्रष्टाचार विरुद्धको अभियानमा शुन्य सहनशिलता,पारदर्शिता र सुशासनका लागि संविधान संशोधन गरी एउटा शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन होस भन्ने माग गर्दछौँ ।

३. भुकम्प पछिको पुननिर्माणले गति लिन सकेको छैन । पिडित जनताका जीवनयापन झन कष्टकर बन्दै गईरहेको छ । राष्ट्रिय गौरबका आयोजनाहरु अलपत्र छन् । महंगी,बेरोजगारी,युवा पलायनलाई रोक्न सकिएको छैन । सामाजिक विकृतिको रुपमा रहेको छुवाछुत,जातिय भेदभाव,महिला हिंसा,बालश्रम शोषण आदी घट्नुको साटो झन बढेर गएका छन । यसतर्फ सरकारको उचित ध्यान पुग्न सकेको छैन । नयाँ शक्ति पार्टी,नेपाल जनताका यी सरोकारका विषयमा गम्भिर हुन जोडदार माग गर्दछ ।

४.देशका पचास लाख भन्दा बढि नेपाली दाजुभाई दिदीबहिनीहरु रोजगारीको शिलसिलामा विदेशमा छौ,हामीहरुले पठाएको रेमिट्यान्स (बिप्रेषण) बाट एक तिहाई रकम राज्यको राजस्वमा जम्मा हुने गर्छ र त्यस्तो ढुकुटिबाट देश चल्छ । तर “हाम्रो नोट चल्ने भोट नचल्ने” भएको छ । अर्थात हामीले बिभिन्न तहका चुनावमा भोट खसाल्न पाउने अवस्था अहिलेसम्म नरहेको हुँदा प्रवासमा रहेका बालिग सबै नेपाली नागरीकले भोट हाल्न पाउनकालागि कानुनी र प्राविधिक व्यवस्था तुरुन्त गरियोस् ।

५.वैदेशिक रोजगारीका शिलशिलामा विदेश गएका नेपाली दाजुभाई दिदिबहिनीहरुको पारीश्रमिक ,सेवा—सुविधा र सर्तहरु रोजगारदाताले करारनामा र नियुक्ति पत्रमा प्रष्ट खुलाउने तथा कामका सिलशिलामा कुनै दुर्घटना,घाईते ,अङगभङग र मृत्यु भएमा ततसम्बन्धि राहत, क्षतिपुर्ती पिडित लाई र मृतकका हकमा शव / उचित क्षतिपुर्ती आफन्तलाई तुरुन्त मिल्ने प्रबन्ध परराष्ट मन्त्रालय र श्रम मन्त्रालय मार्फत गरियोस् ।
६) बिदेशमा बसेका नेपालीहरुलाई नागरिकताको अधिकारदिने हकमा बेलायत स्थित ब्रिटिश गुर्खाजहरुको मुद्धा फरक ढंगको भएको हुँदा नागरिकता सम्बन्धि व्यवस्थामा ब्रिटिश गुर्खाज हरुका नागरिकता सम्बन्धि समस्यालाइ बिशेष ढंगले ब्यबस्थित गरियोस ।

धन्यवाद ।

भवदिय
१. भोला खनाल – संयोजक
२. सुरोज मास्के – सह-संयोजक
३. जगन कार्की – महा सचिव
४. बिरेन्द्र श्रेष्ठ – युवा अभियान संयोजक-
५. रुद्र ढकाल – मिडिया संयोजक