८ बैशाख २०८१, शनिबार
Follow Us

माघ १५ गतेभित्र ऐन दिए जेठ पहिलो हप्ता निर्वाचन

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार १०:१२

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले भन्नुभयो – “निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुसार तयारी थालेका छौँ, नयाँ ऐन, कानुन दिए त्यसअनुसार काम अगाडि बढाउँछौँ ।” प्रमुख आयुक्त डा यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद हो भन्नुभयो ।

उहाँले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भन्नुभयो – “सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।” डा यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको पनि स्पष्ट गर्नुभयो ।