Dr. Jyotiविश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक हेर्ने हो भने ४२ करोडभन्दा बढी मानिसमा मधुमेह (डाइबिटिज) ले पीडित छन् । त्यसो त बिहान हिड्ने, कसरत गर्ने, खानामा सचेत रहने, चिल्लो, चिनी कम प्रयोग गर्नेलगायतका कुरामा चेतना बढेको पनि छ । तर मधुमेहका रोगीहरु संख्या दिनप्रतिदिन बढ्दो छ । सन् १९८० पछिको तथ्यांकलाई हेर्ने हो भने १८ वर्षमाथिका ४ प्रतिशतमा मधुमेह देखिएको थियो । यो समस्या अहिले साढे ८ प्रतिशतभन्दा बढी मानिसमा देखिएको छ । सन् २०१५ मा १६ लाख मानिसको यो रोगले मृत्यु भएको मानिन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा १७ वर्षमुनिका मानिसको मृत्यु दरमा मधुमेहको हिस्सा ५० प्रतिशत पुग्ने अनुमान गरेको छ । बढ्दो मधुमेहको समस्यामा केन्द्रित रहेर सञ्जीव अधिकारीले इन्डोक्रोनोलोजिस्ट डा. ज्योति भट्टराईसँग गरेको कुराकानी–

० नेपालमा मधुमेहले विकराल रुप लिन थालेको हो ?
– प्रत्येक घरमा मधुमेहका रोगी बढिरहेका छन् । देशव्यापी रुपमा हामीले यसको तथ्यांक संकलन गर्न सकेका छैनौं । केही संघसंस्थाले गरेको तथ्यांकले मधुमेह रोगीको संख्या बढेको देखाउँछ ।

० खानपान र जीवनशैली हो बढ्नुको कारण ?
– खानपान, जीवनशैली र भौगोलिकतासँगै वंशाणुगत मधुमेह रोग लाग्छ । वातावरणीय कारण खानपान, तनाव मात्र होइन, प्रदूषण, खाद्यन्न उत्पादनमा रसायनिक मलको प्रयोग पनि मधुमेहसँग जोडिएको पाइएको छ । पछिल्लो अध्ययनअनुसार जहाँ सडक सुविधा पुग्छ, त्यहाँ मधुमेह रोग देखिदै गएको छ ।

० मधुमेह रोगप्रति आम मानिसमा चेतना बढेको छ, तर रोगीको संख्या वृद्धि भइरहेको छ नि ?
– पहिलो हामी बारी खन्ने, भारी बोक्ने अवस्थामा थियौं, अभावको अवस्था थियो, खाना अव्यवस्थित नै हो । जनचेतनाले केही परिवर्तन ल्याएको छ । शहरी क्षेत्रका केही मानिसले सचेतना अपनाएर गर्न खोजेका छन् । तर आम मानिसमा पर्याप्त मात्रामा चेतना आइसकेको छैन । अर्को कुरा प्रदूषण बढ्दो छ, स्वास्थ्य भोजनको नाममा गुणस्तरीय खाना हामी कहिले पनि खाँदैनौं । चिनी नखाउँला, तर भोजमा गएर टन्न खाजा (स्नेक्स) खाएर खाना खाइन्छ । यो आँखा अगाडि दैनिक देखिने कुरा हो । यसलाई चेतना भन्न मिल्दैन ।
हामीकहाँ सामूहिक सोच छैन, बच्चालाई खेल्न प्रोत्साहन गरिदैन, खाली पढ मात्र भन्छौं, बाहिर गइयो भने खाना त्यस्तै चिल्लो, पिरो, तारेको र मसलेदार हुन्छ । गुलियो पिय पदार्थ कोक, पेन्टा, जुस हामी बच्चालाई खुवाउँछौं । यस्ता कुराले मधुमेहलाई सर्पोट गर्छ । यी कुरालाई मध्येनजर गर्ने हो भने हामीकहाँ चेतना आइसकेको छैन । यी वस्तुमा कतिपय देशमा सुगर टयाक्स लगाउन थालिएको छ । यसरी राज्यले नीति निर्माण तहबाट सर्पोट ग¥यो भने मधुमेह नियन्त्रणमा सहयोग पुग्छ ।

० खेलकुदभन्दा पढाइमा दबाब दिइयो भने बच्चालाई तनाब हुन्छ, त्यो तनाव समस्या हो ?
– हो, अभावबाट हामी अन्दाधुन्द भौतिकवादमा दौडिन्छौं । पढेर मात्र केही हुन्छ भन्ने सोच हामीकहाँ छ । अब सबै मिलेर सामूहिक सोच हुनुपर्छ । बच्चालाई खेलकुद पनि महत्वपूर्ण छ, पढाइमा नम्बर वान मात्र अब्बल होइन, पढेर सबैले काम पाउने वातावरण सिर्जना हुनुपर्छ । कामका लागि यतिधेरै तनाव छ कि जसले मधुमेह बढाउने कारक बनिरहेको छ । मधुमेह बढाउन प्रदूषण कति कारक छ भन्ने कुराको हामीले अध्ययन गरेका छैनौं । हामी बस्ने वरपर प्रदूषण कम गर्ने, कसरत गर्ने, रेसायुक्त अर्गियानिक तरकारी सेवन गर्ने, मोटोपनाबाट जोगियौं भने हामी मधुमेहबाट धेरै हदसम्म जोगिन सक्छौं ।

० अब बच्चाबाटै सचेतना फैलाउनुप¥यो होइन ?
– हो, स्कुलबाटै मधुमेह रोगबारे जानकारी गराउनुपर्छ । गाउँघरतिर स्कुलमा समेत अर्गियानिक खेती गर्ने करेसाबारी बनाउनुपर्छ । यस्ता कुरा सहरी क्षेत्रमा पनि सिकाउनुपर्छ । सहरी क्षेत्रको स्कुल क्षेत्र सानो हुन्छ, उनीहरु दौडिने, कुद्ने स्थानसमेत अभाव हुन्छ । नसर्ने रोग बढिरहेको छ, यसबाट कसरी जोगिने विषय पाठ्यक्रममा समेत राख्नुपर्छ ।

० मधुमेह कति प्रकारको हुन्छ ?
– यो विभिन्न प्रकारको हुन्छ, मुख्यगरी दुई किसिमका हुन्छ । पहिलो (प्रकार–१) प्यान क्रियाजमा समस्या भएर सुरुबाटै इन्सुलिन चाहिन्छ हुन्छ । दोस्रो (प्रकार–२) इन्सुलिनले राम्रो काम नगर्ने हो । गर्भावस्थाको मधुमेह र अन्य औषधिका कारणले सिर्जना रोग हुन्छन् । नयाँ तथ्यांकले कुन प्रकारको मधुमेह हो भनेर छुटाउन कठिन हुन्छ । दुब्लोलाई पहिलो किसिमको मधुमेह भनिएता पनि वजन घटेर दोस्रो किसिमको मधुमेह पाइन थालिएको छ ।
प्रकार छुटाए पनि नछुटाए पनि उपचार महत्वपूर्ण हो । शरीरमा सुगरलाई घटाएर निरोगी जीवन बिताउन जान्नुप¥यो ।

० प्रकार एक र दुईमा फरक छ ?
– प्रकार एकमा इन्सुलिनको अभाव हुन्छ भनिन्छ । त्यसलाई सुरुदेखि नै इन्सुलिनको उपचार चाहिन्छ । प्रकार–२ मा इन्सुलिनले राम्रोसँग काम नगरेको परम्परागत रुपमा भन्छौं । तर अहिले प्रकार–२ मा पनि इन्स्युलिन उत्पादनमा कमी देखियो । प्रकार–२ मधुमेहमा पनि पछि गएर इन्सुलिन चाहिने हुन्छ ।

० कडा र नरम भन्ने डाइबिटिज हुँदैन ?
– त्यसो भनियो भने महाबेकुपी हुन्छ । थाहा नपाइकन नरम डाइबिटिजलाई कडा बनाइदिइ हाल्छ । सुरुमै डाइबिटिजलाई नियन्त्रणमा राख्न सकियो भने भयावह अवस्थाबाट जोगाउँछ । त्यसकारण डाइबिटिजलाई यो कडा, यो नरम भन्नु बेकुपी हो । जुनसुकै मधुमेह रोगलाई डराएर होइन, सचेत भएर नियमपूर्वक डक्टर भेट्ने, औषधि सेवन गर्ने, सुगर नाप्ने, स्वास्थ्य भोजन गरेर परेजमा बस्नुपर्छ । प्रेसर, सुगर र कोल्डस्टोरलाई सुरक्षित घेरामा राख्नुपर्छ । दैनिक खुशीका साथ बिताएर नराम्रो कुराबाट टाढा बस्नुपर्छ । यसो गरियो भने अन्धोपन, मृगौला, मुटुरोगबाट हामी जोगिन सक्छौं । यो क्षेत्रमा राज्यले पनि केही गर्दैछ, तर भनेजति गर्न सकेको छैन ।

० अस्पतालको पहुँच नपुग्ने व्यक्तिले आफूलाई डाइबिटिज भयो भनेर थाहा पाउने आधार छन् ?
– अहिले महानगरपालिको सामुदायिक हेल्थ सेन्टर छ । राज्यको पनि सामुदायिक स्वास्थ्य सेवा लिने स्थान छन् । प्रिभेन्सन अफ एसेन्सल कम्युनिकेबल डिजिज भन्ने प्यान प्याकेज भन्ने राखिएको छ । जसमा रगत जाँच, पे्रसर नाप्ने, सल्लाह दिने सुविधा धेरै जिल्लामा छ । यसलाई हामीले अझ व्यापक बनाउनुपर्छ । डाइबिटिज तथा नन कमिनिकेबल डिजिज भन्ने नेपाल सरकारसँग छ, तर त्यो सानो छ । यसलाई ठूलो बनाउनुपर्छ । मेडिकल कलेजहरुसँग पनि सहकार्य गरेर यो क्षेत्रमा काम गर्न सकिन्छ ।
निजीमा खर्चिलो हुन्छ, सरकारीमा भिड हुन्छ । त्यसैले पहुँच नभएका व्यक्तिले सजिलो यो सुविधा लिन पाउँदैनन ।

० लक्षण हेरेर रोग थाहा पाउन सकिन्छ ?
– पटक पटक पिसाब लाग्ने, दुब्लाउँदै जाने, थकान महसुस गर्ने, संक्रमणहरु निको नहुने, पानी प्यास लागिराख्छ । तर ५० प्रतिशतले कुनै लक्ष्ण देखिँदैन । लक्ष्ण नभएता पनि जाँच गरेर पे्रसर, सुगर र कोल्डस्टोर सुरक्षित घेराभित्र राख्नुपर्छ । यो भनेको नराम्रो र महँगो पर्ने रोगबाट जोगिने उपाय हो ।

० सामान्य मानिसले डाइबिटिज जाँच गराइराख्नुपर्छ भन्नु भएको हो ?
– होइन, विज्ञहरुले यति उमेरपछि डाइबिटिज जाँच गराउनुपर्छ भनेर गाइडलाइन निकालिएको हुन्छ । नेपालमा पनि इन्डोक्रिन एसोसिएसनबाट गाइडलाइन बन्दैछ । विदेशी मुलुकमा ४५ वर्षमाथि भनिन्छ, हाम्रो देशमा त्यसो गर्न मिल्दैन । हामीकहाँ २० वर्षको मान्छेलाई पनि प्रकार–२ मधुमेह देखिरहेको छ । प्रकार–१ को स–साना बच्चालाई जचाएर साध्य हुँदैन । प्रकार–२ मो मधुमेहमा ३० वर्षपछि वर्षमा एक पटक रगत जचाउनुस भन्ने गाइडलाइन आउँछजस्तो लाग्छ । ३० वर्षपछि वर्षमा एक पटक सुगर जचाउँदा राम्रो हुन्छ, यो महँगो जाँच होइन ।

० डाइबिटिज भइसकेपछि यसको उपचार विधि सरल छ ?
– विभिन्न अवस्थामा विरामी आएका हुन्छन् । ३ सयमाथि सुगर आइसकेको छ भने उनीहरुलाई इन्सुलिन नै चलाउनुपर्ने हुन्छ । तर मानिदिए सजिलो र सरलसँग मधुमेहलाई व्यवस्थापन गर्न सकिन्छ । सुरुमै नियन्त्रण गरियो भने त्यसलाई अंग्रेजीमा लेगेसी इफेक्ट भनिन्छ । मलाई डाइबिटिज भएको थियो, नर्मल बनाए भने त्यसले २० वर्षपछि पनि फाइदा दिन्छ । तर त्यही व्यक्तिलाई राम्रोसँग केयर पुगेन, वर्ष बित्दै गयो, अंगहरुमा क्षति पुग्न थालेपछि अब राम्रो गर्छुभन्दा त्यो प्रभावकारी हुँदैन । यो कुरा स्वास्थ्यकर्मी र रोगी सबैले बुझिदिनुपर्छ । अहिले विहान हिडैंला, कम खाउला सुगर बढेपछि मात्र औषधि खाउला भनियो भने रोगले अन्य अंगलाई क्षति पुग्ने काम गर्न थाल्छ ।
कोही सुगररोगीलाई मासिक ५ सय वा हजार रुपैयाँको औषधिले पुग्छ । त्यो बढ्दै गयो, मृगौलालाई असर पुग्न थाल्यो भने त्यसले ठूलो धनराशी खर्च गर्छ ।

० डाइबिटिज रोगीले औषधि आजीवन प्रयोग गर्नुपर्छ ?
– हो, औषधि नियमित प्रयोग गर्दा रगतमा सुगर थपिदैन । व्यवस्थापन मिलाउँदा यी औषधि सर्वसाधारणको पहुँचमा छ । रोकथाममूलक सुगर घटाउने, पे्रसर घटाउने र मुटुरोगबाट जोगाउने अत्यावश्यक औषधि भनेर सरकारले निःशुल्क वितरण गर्ने लिस्टमा राखेको छ । औषधिमा पहुँच भएपछि यो हानीकारक होइन भनेर आम सर्वसाधारणले बुझिदिनुपर्छ ।
औषधि दुई प्रकारका हुन्छन् एउटा उपचार र अर्को रोकथाममूलक । डाइबिटिजमा प्रयोग गरिने औषधि रोकथामूलक हुन् । साइडइफेक्ट भयो भने डाक्टरलाई कम्प्लेन गर्नुपर्छ । यसले मलाई हानी गर्छ भनेर नखाने हो भने झन ठूलो नोक्सानी व्यहोर्नुपर्छ ।

० औषधि सेवन नगर्ने प्रवृत्ति मानिसमा हुन्छ ?
– पढेलेखाका मानिसमासमेत यो प्रवृत्ति देखिएको छ । सुगरको औषधि दिनुहोस् पे्रसरको नदिनुस् भन्छन् । जबकी पे्रसरको औषधि गरिन भने त पक्षघातको सम्भावना हुन्छ । चिनी रोग मात्र होइन, सँगसँगै तनावलगायत अरु रोगको पनि उपचार गर्नुपर्छ । चिनी रोग मात्र महत्वपूर्ण होइन, होल प्याकेजमा आउँछ । तनाव र मधुमेहसँगसँगै आउने रोग हुन्, तनावलाई हामीले नियन्त्रण गरेनौं भने हामीले दिएको अर्तिउपदेशको कुनै अर्थ हुँदैन । विदेशमा एउटा टिमले डाइबिटिज नियन्त्रण गरिराखेको हुन्छ । डक्टर, नर्स, पोषण शिक्षिका, फार्मेसी र मनोवैज्ञानिक मिलेर गरिएको उपचार प्रभावकारी हुन्छ ।

० यो सिस्टममा आउन हामीलाई अप्ठ्यारो होला नि ?
– अप्ठ्यारो होइन, विरामीले मानिदिनुपर्छ । डाक्टर र विरामीको सम्बन्ध हामीकहाँ एकदमै गोलमाल छ । एउटा डाक्टरले धेरैजना विरामीलाई हेर्नुपर्ने हुन्छ । विरामीलाई डाक्टरहरुले समय दिन सक्दैनन्, त्यस नर्सको सहयोग लिनुपर्छ, केही कुरा खानाविद्, औषधि पसल र मनोवैज्ञानिकले केही कुरा सम्झाइ दिनुपर्छ । डाक्टर ओरियन्टेट सुविधा र उपचार विधिले मात्र डाइबिटिज नियन्त्रण हुँदैन । अप्प्रेसन गरेर निको नहुने रोग भएकाले यसलाई फकाएर जीवनशैली परिवर्तन गर्नुपर्छ । कतिपयको औषधि किन्न पहुँच पुग्दैन, कतिपय सम्पन्न भए पनि निःशुल्क औषधि खोज्छन, कतिपय रोगबारे भन्न डराउँछन् । हामीकहाँ गाइडेन्सको अभाव छ, निःशुल्क औषधि कहाँ पाइन्छ भनिदिने मान्छेको पनि अभाव छ । समग्रमा हामी व्यवस्थापनमा चुकेका छौं ।

० वंशाणुगत पनि ठूलो समस्या हो ?
– मेरो बा, आमा वा दाईलाई छ भने मलाई पनि डाइबिटिज हुने सम्भावना रहन्छ । अर्को सामाजिक वंशाणु हुन्छ, कुनै निश्चित ठाउँबाट आउनु भएको छ भने तपाईंले पनि त्यो रोग लिएरै आउनु भएको हुन्छ । जस्तो भारतलाई डाइबिटिजको राजधानी भनिन्छ, त्यहाँ असाध्य धेरै डाइबिटिजका विरामी छन् । हामीबाट भारत नजिकै भएकाले जेनिटिकल्ली मिल्दोजुल्दो छ । दक्षिण एसियाको जेनिटिक नै मधुमेह बढी हुने सम्भावना भएको समूहमा पर्छ । अहिलेसम्म जति पनि अध्ययन भए त्यसमा दक्षिण एसियाका मानिसमा बढी नै सम्भावना देखियो । बा आमालाई नभए पनि वंशाणुगतमा हामीले यसै लिएर आएका हुँदा रहेछौं ।