चितवन । भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विश्वका विभिन्न देशका वैज्ञानिक सहभागी भएको ‘अन्तर्राष्ट्रिय भैँसी विज्ञको समगोष्ठी’ ले चार बुँदे निष्कर्ष निकालेको छ । यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चितवनको सौराहामा सम्पन्न समगोष्ठीले चार बुँदे निष्कर्ष निकालेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सो अवसरमा आयोजक संस्था कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायकी डिन डा शारदा थपलियाले समगोष्ठीले राष्ट्रियस्तरमा भैँसी अनुसन्धानको सर्वाेच्च केन्द्र र सोअन्तर्गत स्याटेलाइट अनुसन्धान केन्द्र स्थापना गर्ने निष्कर्ष निकालेको छ ।

समगोष्ठीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा भैँसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच सशक्त साझेदारी र सहकार्यको विकास गर्ने, अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको समगोष्ठी आयोजक राष्ट्रको हैसियतले निकट भविष्यमा एशियन बफेलो काँग्रेस आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने र गुणस्तरीय दूध उत्पादनका लागि एशियन मस्टाइटिस काउन्सिल स्थापना गर्ने निष्कर्ष निकालेको डा थपलियाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा समगोष्ठीका सदस्य सचिव डा भूमिनन्द देवकोटाले सन् २०१८ मा एशियन बफेलो काँग्रेस भारतको हरियाणाको हिसारमा हुँदैछ भने सन् २०२१ मा हुने सो काँग्रेस नेपालमा गर्न सहज बनेको बताउनुभयो । समगोष्ठीबाट विश्वमा १५ देखि ४० प्रतिशतसम्म दुहुनु भैँसीमा देखिने गरेको थुनेलो रोग नियन्त्रणका लागि एशियन मस्टाइटिस काउन्सिल स्थापना गर्न सकारात्मक वातावरण बनेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयका कूलपति प्राडा ईश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्राडा मनराज कोलाक्षपति, विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा नवराज देवकोटाले विश्वमा संख्याको हिसाबले पाँचौँं स्थानमा रहेको नेपालमा भएको भैँसी विज्ञहरुको समगोष्ठी आफैमा महत्वपूर्ण रहेको भन्दै यसले विश्वका भैँसीपालन गर्ने देशसँग विश्वविद्यालयको सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा समगोष्ठी भएको हो ।

‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैँसी उत्पादनमा वृद्धि’ नाराका साथ आयोजना गरिएको समगोष्ठीमा नेपालसहित १० देशका वैज्ञानिक सहभागी रहेका थिए । समगोष्ठीमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्सि, इटाली, अमेरिका र क्यानडाका वैज्ञानिक सहभागी भएका थिए । उनीहरुले भैँसीको उत्पादन सम्बन्धी विभिन्न विधामा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भँैसीको प्रजनन् प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन प्रविधि, अनुवांशिक प्रविधि, भैँसीजन्य उत्पादनको सामाजिक, आर्थिक पक्ष, एवं पशुजन्य खाद्य पोषणको प्रमुख स्रोतको रुपमा भैंँसी उत्पादन जस्ता ८९ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोष्टर र पाँचवटा विशेष कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नेपालमा कूल दुग्ध उत्पादनको दुई तिहाईभन्दा बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैँसीको उत्पादनले ओगटेको छ । विश्वका ४२ देशमा भैँसीपालन हुँदै आएको छ ।

विश्वभरमा १८ करोड ५० लाख भैँसी पालिएकोमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैँसीपालन हुँदैआएको बताइएको छ ।