राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना विदेश भ्रमणकालमा त्यहाँ बसोबास गर्ने नेपालीसँग भेट गर्दा उनीहरू ‘‘आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको’’ बताउँदै उनीहरूको ‘‘काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने’’ बताउनुहुन्छ ।
उहाँ ती नेपालीले विदेशी भूमिमा सिकेका सीप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि जोड दिनुहुन्छ । तर प्रवासमा रहेका यी नेपालीसँग कुरा गर्दा उनीहरूका सुख र दुःख जीवनका घामछायाँ जस्ता देखिन्छन् ।
राष्ट्रपति भण्डारीबाट हालै संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण हुँदा प्रवासमा रहेका श्रमजीवी नेपालीसँगको जम्काभेट अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाटै आरम्भ भएको हो । विमानस्थलमा राष्ट्रपति भण्डारीको भ्रमणटोलीका सदस्यहरूको झोलाको सुरक्षा जाँच गर्न सहयोग गर्ने लुम्बिनीका एक नेपाली युवक थिए । उनीसँग अर्का एक नेपाली युवक पनि भेटिए जसले भ्रमणटोलीका झोला निरीक्षणमा सहयोग गरिदिए ।
विमानस्थलबाट राष्ट्रपति बस्नुभएको इमिरेट्स प्यालेस पुग्दा प्रमुख द्वारबाहिरै त्यहाँ काम गर्ने नेपाली अनुहार देखिए । त्यसपछि यस लेखकसहितको समूहलाई राखिएको अस्फार होटेल अपार्टमेन्ट एन्ड रिसोर्ट पुग्दा रातिको १०ः३० भइसकेको थियो र होटेलमा खाना खाने समय ११ः३० मात्रै भएको अर्का एक नेपाली युवकले बताए ।
बिहानको नास्ता गर्दा सहयोग गर्ने अर्की नेपाली युवती देखिन्थिन् । उनकी दिदी अर्को होटेलमा सेफको रुपमा काम गर्थिन र भिनाजु अर्को कुनै स्थानमा । उनी अबुधाबी पुगेको पनि दुई वर्ष भइसकेछ । भ्रमणटोलीका सञ्चारकर्मी वसन्त रूपाखेतीलाई आफ्ना छोराका लागि एउटा मोबाइल खरिद गर्नु थियो, उनले सहयोग गरिदिने वचन दिइन् ।
राष्ट्रपति भण्डारी अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानसँग भेटवार्ताका लागि जाँदा उहाँ बस्नुभएको इमिरेट्स प्यालेसमै प्रतीक्षा गर्नुपर्ने भयो । राष्ट्रपतिको कोठा वरपर ‘रुम–सर्भिस’ को काम गर्ने युवक नेपाली रुद्र ढकाल भेटिए । उनको घर स्याङ्जामा भएको र युएईमा काम गरेको १६ वर्ष पुगेको बताउँछन् उनी । इमिरेट्स प्यालेसमा काम गरेकै १० वर्ष भएछ । यसअघि छ वर्ष उनले दुबईमा सेराटन होटेलमा काम गरेका थिए ।
हामीले राष्ट्रपतिज्यूको खानाका विषयमा कुरा ग¥यौँ । केही समयपछि उनले होटेलको एक सेफ बोलाए । उनी पनि नेपाली नै थिए ।
सोही दिन हामीलाई लुभ्र अबुधावी सङ्ग्रहालय जानु थियो । रात परिसकेको थियो तर पनि सङ्ग्रहालय खुलै थियो । हामीले थुप्रै सुरक्षाकर्मी नेपाली भएको देख्यौँ । राससका लागि राष्ट्रपतिका कार्यक्रमको फोटो खिच्ने जिम्मवारी पनि थियो । फ्ल्यास लाइट नबाली राम्रो फोटो आउँदैन भन्ने सोचाइ रह्यो । केही समयसम्म त खिचियो तर एउटा सुरक्षाकर्मी आए र नेपालीमै कानमा सुनाए, ‘‘दाइ यहाँ फ्ल्यास बाल्न पाइन्न’’ । नेपाली पोशाकमा थिएँ । त्यसैले सजिलै चिनिहाले ।
सङ्ग्रहालयको भ्रमणपछि त्यहाँ कार्यरत एक हूल नेपालीले राष्ट्रपतिसँग फोटो खिच्न चाहेको बताए । उनीहरूसँग फोटो खिचाउँदा राष्ट्रपति भण्डारी खुशी हुनुहुन्थ्यो ।
अर्कोदिन हामीले अघिल्लो दिनको गाडी त पाएनौ तर हामीलाई राष्ट्रपतिका कार्यक्रम पु¥याउने चालक पोखराका मनोज श्रेष्ठ थिए । नमस्ते ट्राभेल एन्ड टुरिजममा आफ्नै गाडी र लगानीमार्फत सेवा दिने श्रेष्ठ परिवारसहित अबुधावीमा थिए र उनले हामीलाई कार्यक्रमस्थल लैजाँदै गर्दा दुई अन्य सवारी चालकलाई गल्ती गरेका कारण मोबाइलमा नसिहत दिँदै थिए । उनी पेसागत काम कस्तो हुनुपर्छ भन्ने कुरा पनि बताउँदै थिए । उनको खप्की खाएका चालक पाकिस्तानी र श्रीलङ्कन थिए ।
दिनभरको कार्यक्रमले थाकेका हामीलाई काठमाडौँमा आफन्तलाई केही उपहार पनि लैजानु थियो । हामीलाई सहयोग गरिदिनुहुने अबुधावीस्थित नेपाली दूतावासका कर्मचारी विष्णुकुमारी अधिकारीले राती ११ बजे नजिकैको एक सपिङ मलमा लिएर जानुभयो । प्रतिनिधि मण्डलका सदस्यहरूले केही चकलेट किने, अन्य कुरा त महङ्गो थियो । मलभित्रै पनि हामीलाई देखेर केही युवक मुस्कुराउँदै थिए ।
मलबाट बाहिरिँदा ट्रेलरको लामो चाङ गुडाउँदै आएका केही व्यक्ति देखिए र उनले हामीलाई चिनेरै के किनेको भनी सोधे । हामीले चक्लेट भन्दा ‘‘यहाँ किन किनेको त ? यहाँ त धेरै महङ्गो छ, उता सानो पसलमा सस्तो छ’’, उनले बताए । अब हामीसँग उपाय पनि थिएन ।
राष्ट्रपतिको कार्यक्रम दुबईस्थित बुर्ज खलिफाको अवलोकन पनि थियो र त्यहाँको अरमानी होटेलले उहाँलाई स्वागत गर्ने तय भएको थियो । हामी बुर्ज खलिफा पुग्दा त्यहाँका शिष्टाचार अधिकारीहरूका साथमा अरमानी होटेलका सहायक सुरक्षा व्यवस्थापक समुद्र क्षेत्री देखिनुभयो । चौँतीस वर्षीय क्षेत्रीका साथमा ३१ वर्षीय राजिव विक पनि देखिनुभयो । क्षेत्रीको युएई बसाइ १२ वर्षको थियो भने विक को ११ वर्ष ।
उहाँहरूकै साथमा २७ वर्षीय गोपाल भट्टराई पनि देखिनुभयो । भट्टराई बुर्ज खलिफामा काम गरेको २ वर्ष भएछ । उहाँका अनुसार बुर्ज खलिफामै करिब एक हजार नेपाली काम गर्छन् – कोही किचेन, कोही सुरक्षा गार्ड, कोही रुम सर्भिस ।
युएईमा करिब दुई लाख नेपाली कामदार रहेको सरकारी तथ्याङ्क छ । अधिकारीहरू त्यसै भन्छन् । सही तथ्याङ्क छैन, त्यसैले एक अधिकारीले अनौपचारिक रूपमा करिब तीन लाख भएको सुनाए ।
भेटका क्रममा सबै कामदारले एकै प्रकृतिका जवाफ दिए । खान पुग्छ, घरमा केही पठाउन पनि पुग्छ । नेपालमा काम पाइन्न, अर्को उपाय पनि छैन । त्यसो त मनोज श्रेष्ठ जस्ता युएईमा लगानी गर्ने थुप्रै व्यवसायी पनि देखिए । साथमा केही बेर बसेर सुन्दा परिवारको बिछोड, पाएको गोता, दुःख, पीडा छन् र आँखामा आँसु पनि । सबै लेख्न पनि मिलेन ।
बाबुराम विश्वकर्मा युएई आएको १४ वर्ष भएछ । उहाँ मानव संसाधनका व्यवस्थापक हुनुहुन्छ र नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष । विश्वकर्माका अनुसार युएईमा करिब तीन लाख नेपाली कामदार काम गर्छन् र ९० प्रतिशतको अवस्था राम्रो छैन ।
अबुधावीस्थित नेपाली दूतावासका एक अधिकारीले नेपाली कामदारलाई ल्याउने व्यक्तिहरूले निकै दुःख दिएको आफूहरूले देखेको र माथिल्लो निकायमा प्रतिवेदन दिँदा सरुवा गरिदिने र जागिर खाइदिने धम्की पाएको अनौपचारिक रूपमा गुनासो गरे । ‘‘यस्तै हुने हो भने कुनै दिन दलालहरू नै हाम्रा राजदूत हुनेछन्’’ – उनले सुनाए ।
‘‘घरबाट आफन्तले टीका र माला लगाएर बिदा गरेका हुन्छन् । विमानस्थल पुग्दा म्यानपावरवालाले अर्को करारपत्रमा हस्ताक्षर गराउँछ । नजाउँ सबैले बिदा गरिसके, जाउँ खान बस्नै पुग्दैन । ऋण कसरी तिर्ने ? उजुरी ग-यो फेरि दुखै दिन्छ । कस्लाई भन्ने ?’’, एक कामदारले गुनासो गरे ।
राष्ट्रपति भण्डारीले अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यान तथा (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री तथा दुबईका शासक शेख महम्मद बिन रसिद अल मोक्तुमसँगको भेटवार्तामा अदालतबाट मृत्युदण्डका सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा उनको रिहाइका लागि आग्रह गर्नुभएको थियो ।

अबुधावीमा नेपाली दूतावासले आयोजना गरेको र त्यहाँ बसोबास गर्ने नेपालीको उपस्थितिमा सम्पन्न कार्यक्रममा आपूर्तिमन्त्री जयन्त चन्दले विदेशमा बसेका नेपालीले पसिना बगाएर आफ्ना परिवार तथा आफ्नो मुलुकको अर्थतन्त्र धान्न लागि ठूलो योगदान दिइरहेकामा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा उज्यालो एफएम तथा कान्तिपुरका सञ्चारकर्मीसँगै अन्य सञ्चारकर्मीसँग पनि भेट भयो । मन थाम्न सकिएन फोटोका लागि आग्रह गरेँ । कान्तिपुरका सञ्चारकर्मीले भने, ‘‘फोटो त समाचारका लागि होइन नि’’ ।

फर्कने दिन हामी बिहानै राष्ट्रपति बस्नुभएको इमिरेट्स प्यालेस पुग्यौँ । केही समयपछि हामी विमानस्थलतर्फ प्रस्थान ग-यौँ । त्यही समयमा उक्त प्यालेसको बगैंचामा काम गर्ने रौतहटका एक नेपालीले हाम्रो बिदाइमा हात हल्लाए ।

उनले त्यहाँका अधिकारीहरूले लगाउने सेतो औपचारिक पोशाक लगाएका थिए । हातमा बगैँचा सफा गर्ने औजार थियो, पात पतिङ्गरको सङ्गालो नजिकै थियो । मन नेपाली थियो, दुई दिन पटकपटक भेटेका थियौँ । उसले हात हल्लायो र हामीले पनि हल्लायौँ । यो लेखकले नेपालबाहिर अर्को नेपाल पुगेर नेपालै फर्केको अनुभव ग-यो ।
– सुरेन्द्रबहादुर नेपाली