नारायण गाउँले । अहिलेको बाम एकताले लोकतन्त्रलाई खतरा छ या कम्युनिस्ट अधिनायकवादको उदय हुनसक्छ भन्ने कांग्रेसको दाबी चुनाबी समीकरणले निम्तिन सक्ने सम्भावित पराजयको डर र निराशाको अभिव्यक्ति होला, तर यो पूर्णतः निराधार आरोप भने होइन ।

यसमा मुख्यतः दुई कारण छन् ।

१. कम्युनिज्म र लोकतन्त्र पर्यायवाची शब्द होइनन् । लोकतन्त्रले बहुलवाद, बहुदलीय प्रजातन्त्र र चुनाबमा विश्वास गर्छ भने कम्युनिज्मले एक दलीय अधिनायकवादी शासनमा । सेनादेखि अदालत र मिडियासम्म सबै पार्टीको अधीनस्थ रहनुपर्ने कम्युनिज्मको मान्यता र अभ्यास छ । नेपालमैं पनि माओवादीले जनसत्ता, जनअदालत, जनसेना आदि स्वरूपमा राज्यका हरेक अङ्गलाई पार्टीको नियन्त्रणमा राख्ने अभ्यास गरेको थियो ।
कम्युनिस्ट शाशन व्यवस्था भएका विश्वका देशहरू र इतिहास हेऱ्यौं भने यो सजिलै पुष्टि हुन्छ । कम्युनिस्टहरू अन्य व्यवस्था र खासगरी लोकतन्त्र भएका देशप्रति असहिष्णु र शङ्कालु रहँदै आएको पाइन्छ । कम्युनिस्ट या कम्युनिष्ट इतिहास भएका देशबाहेक अन्य सबै साम्राज्यवादी र दुश्मन हुन् भन्नेजस्तो धारणा र घृणा तिनमा देख्न पाइन्छ । क्यूबा या उत्तरकोरियालाई उदाहरण लिन सकिन्छ । उत्तरकोरियाको मित्र देश भनेको चीन र रसियामात्रै हुन्, तिनैसँग पनि ऊ सशङ्कित रहन्छ । आम जनतामा समेत अर्को देशका नागरिकप्रति अनावश्यक दुश्मनी विकास गर्ने अभ्यास नौलो होइन । वाक् स्वतन्त्रता, वैचारिक स्वतन्त्रता र आर्थिक-सामाजिक स्वतन्त्रताजस्ता आधारभूत स्वतन्त्रताको रक्षा कम्युनिज्मले गर्दैन । यो विश्वभर देखिएको सत्य हो । यति बोल्न कांग्रेस भइरहनु पर्दैन ।

नेपालमा कम्युनिस्ट पार्टीहरू एक भए भने र सत्तामा आए भने अवस्था त्यस्तै हुन्छ कि भन्ने डर नै पहिलो आधार हो ।

२. अर्को बलियो कारण बाम गठबन्धनको एउटा घटक माओवादी आफै हो । उसको राजनैतिक दस्ताबेज, गतिविधि र सैद्धान्तिक गन्तव्य सबै कम्युनिस्ट सर्वसत्तावादलाई लक्ष्य मान्ने खालका रहिआएका छन् । सत्ता कब्जा त उसले आमरूपमैं प्रयोग गर्ने पदावली भयो । ऊ संसदीय प्रतिष्पर्धामा आएको त छ तर यसलाई उसले तत्कालीन वस्तुस्थितिसँग सम्झौताका रूपमा लिएको छ । अल्पमतको सरकार हुँदासमेत उसले सेनालाई पार्टीको अधीनमा ल्याउन गरेको प्रयास पुरानो भएको छैन । ऊ सिद्धान्तत: कम्युनिस्ट अधिनायकवादकै पक्षमा छ । यसमा आन्तरिक लोकतन्त्रसमेत छैन । प्रचण्ड नै सर्वकालीन प्रमुख रहँदै आएका छन् । मोहन बैद्य, विप्लवजस्ता यसका केही घटक खुलेरै लोकतन्त्रको विपक्षमा छन् । लोकतन्त्रको मेरूदण्ड चुनाब हो र यही चुनाब बिथोल्ने अभियानमा तिनीहरू छन् । चुनाबप्रति माओवादीको कहिल्यै विश्वास रहेको देखिन्न । उसले आफू पराजित हुने देखेपछि सेनाले देशैभर मतपत्र बदलेको भनेर परिणाम नै नमान्ने बताएको थियो । हार्ने अवस्था देखेपछि मतपत्र च्यातिएको घटना ताजै भयो । यो सबै जसरी पनि सत्ता कब्जा गर्ने मनस्थितिका अभ्यास हुन् । सत्तामोहका कारण विगत दश वर्षमा माओवादी प्रायः कहिल्यै विपक्षमा बसेको छैन भने कुनै विभाग नहुँदासमेत अहिले पनि सत्तामा टाँसिएरै बसेको छ । यस्तो अवस्थामा बामगठबन्धनप्रति आम लोकतान्त्रिक नागरिकमा शङ्काको दृष्टि रहनु नौलो होइन ।

के साँच्चै कम्युनिस्ट अधिनायकवाद आउँछ त ?
यो प्रश्नको उत्तर सजिलो छैन तर त्यस्तो सम्भावना अहिलेलाई देखिन्न । सबैभन्दा पहिले त हल्ला गरिएजस्तो बाम गठबन्धनको बहुमत आउने सम्भावना न्यून छ । दोस्रो मदन भण्डारीले जनताको बहुदलीय जनवाद भन्ने सैद्धान्तिक संशोधन गरेदेखि एमालेको स्वरूप र व्यवहार मूलतः लोकतान्त्रिक रहँदै आएको छ । नाम कम्युनिस्ट भए पनि माथि उल्लेखित विश्व कम्युनिस्टका विशेषताहरू एमालेसँग मेल खाँदैनन् । पार्टीभित्रै पनि सबैभन्दा बढ़ी लोकतान्त्रिक अभ्यास गर्ने दल एमाले नै हो । कांग्रेसलाई लोकतन्त्रको र एमालेलाई कम्युनिसज्मको प्रतिनिधिका रूपमा बुझ्नुमैं समस्या छ । ती दुई दलबीच नामबाहेक अन्य सैद्धान्तिक भेद बाँकी छैन । विश्वले कम्युनिस्ट दल भन्नासाथ जे बुझ्छ, एमाले त्यस्तो दल होइन । उसको संसदीय अभ्यास पनि लामो छ । त्यस्तो कुनै अभ्यासमा अन्तरराष्ट्रिय समर्थन रहन्न भन्ने बुझेको र ऊ नै बाम गठबन्धनको नेतृत्वकर्ता बन्ने भएकाले पनि तत्काल कम्युनिस्ट अधिनायकवादको कल्पना कोरा जस्तो लाग्छ ।

माओवादी आफै पनि धेरै हदसम्म रूपान्तरित भइसकेको छ । संसदीय खेलमा ऊ अभ्यस्त बन्दै गएको छ । सिद्धान्तप्रति उसको निष्ठा र आस्था छैन भन्ने कुरो त उसले कांग्रेस, एमाले, राप्रपादेखि मधेशवादीजस्ता साम्प्रदायिक शक्तिसँग समेत सजिलै सहकार्य गरेबाट स्पष्ट हुन्छ । भोलि उसको प्रकृति अनुसार एमालेलाई धोका दिएर कांग्रेससँग मिलेर सत्ता चलाउन सक्ने सम्भावना पनि प्रबल छ ।

कम्युनिस्ट अधिनायकवादको डर देखाएर आफूलाई भोट माग्नुभन्दा कसरी आफूलाई लोकतान्त्रिक बनाउने भन्नेतिर सोच्नु कांग्रेसका लागि राम्रो हुन्छ । दुई मिनेट लोकतन्त्रमाथि बोल्न नसक्नेहरू नेतृत्वमा छन् । लोकतान्त्रिक दल भएको भए गणेश लामाले टिकट पाउने तर धनराज गुरुङहरू बाहिरै बस्नु पर्ने अवस्था हुँदैनथ्यो ।