डा. शिवमाया तुम्वाहाम्फे, नेतृ, नेकपा एमाले

लिम्बू समुदायमा औंलामा गन्न सकिने महिलाले मात्र पीएचडी गरेका छन् । त्यसमध्ये डा. शिवमाया तुम्बाहाम्फे एक हुन् । मोफसलमा रहेर कानुन व्यवसायी गरिरहेकी डा. तुम्बाहाम्फेले राजनीतिमा महिला आन्दोलन विषयमा पीएचडी गरेकी हुन् । पार्टीको साख बढाउन र नेपाली समाज परिवर्तन गरेर देशलाई समृद्धितिर डो-याउनु छ भने आफूले हासिल गरेको अनुभव र विज्ञतालाई उपयोग गर्ने वातावरण पार्टीले बनाइदिनुपर्छ भन्ने धारणा डा.तुम्बाहाम्फेको छ । उनको राजनीतिक जीवनबारे कुमार राउतले गरेको कुराकानी ः

० तपाईं नारी छाम्ने डाक्टर हो ?
– होइन, विशेषज्ञता हासिल गरेकी छु । नेपालमा राजनीतिक महिला आन्दोलन विषयमा पीएचडी गरेकी हुँ ।

० यो विषयले के समेटेको छ ?
– २०४६ देखि २०६० सालसम्म भएका राजनीतिक आन्दोलनमा महिलाको भूमिकाबारे उल्लेख छ । राजनीतिक दलको भगिनी संस्थाको रूपमा अथवा अन्य जुनसुकै हिसाबले महिला अधिकारका लागि भएको आन्दोलनलाई मेरो अनुसन्धानले समेटेको छ ।

० यो आन्दोलन अहिले कहाँ पुगेछ ?
– अहिले ३३ प्रतिशत सहभागितामा पुगेको छ । ३३ प्रतिशत सहभागिता व्यवहारमा लागू थिएन, तर अहिले संविधानमै लेखिएको छ, जसले गर्दा व्यवहारमा उर्तान राजनीतिक दलहरू बाध्य भए । २७५ मा ३३ प्रतिशत महिलाको सहभागितालाई तत्काल ठूलै उपलब्धि मान्नुपर्छ ।

० महिला अधिकारकर्मी बन्नुपर्छ भनेर कसले सिकायो ?
– यो मेरो घरको घटनासँग जोडिन्छ । मेरा बुबा जमिन्दार हुन् । ०३५ सालतिर जग्गामा हदबन्दी लाग्यो । छोराहरूको नाममा तीन–तीन बिघा जमिन दर्ता भयो । मेरो नाममा पनि जमिन राख्न बुबालाई आग्रह गरें, उहाँले मान्नु भएन । छोरा र छोरीबीचको विभेद अन्त्यका लागि लाग्नुपर्छ भन्ने चेत मलाई त्यही बेलादेखि आएको हो ।

० तपाईं सानैदेखि क्रान्तिकारी ?
– विद्यार्थी आन्दोलनमा सहभागी थिएँ । स्कुलमा पनि महिलालाई फुटबल, भलिबल खेल्न नदिँदा प्रतिशोधको भावना आउँथ्यो । पुरुषविरुद्ध विद्रोह गर्थे ।

० कानुन पढ्नुपर्छ भन्ने हुटहुटी कसले लगायो ?
– घरमा स्टाफ नर्स पढ्नुपर्छ भन्ने दबाब थियो, मलाई पटक्कै मन थिएन । दाइ काठमाडौंमा हुनुहुन्थ्यो, आईएलमा भर्ना गरिदिनुभएछ । बीएल गरें, बीएड गरे, राजनीतिशास्त्रमा मास्टर्स गरें । पीएचडी गर्न एमफिल गर्नुपर्दैन थियो, काम गर्दै त्यो पनि पूरा गरें ।

० कानुन पढेको मान्छे पेसा अंगाल्नुभएन ?
– म अझै पनि पेसामै छु, विराटनगरमा फर्म चलाउँछु, वकालत पेसामै छु ।

० एकपटक राजदूत बन्ने चर्चा पनि चलेको थियो ?
– हो, मेरो पार्टी नेकपा एमालेले मलाई इजरायलका लागि राजदूतमा सिफारिस गरेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमले हाम्रो पार्टीले सिफारिस गरेका नाम हटाइयो, हट्नेमा मेरो पनि नाम प¥यो । अहिले संघीय संसद्का लागि समानुपातिकमा नाम परेको छ । संसद्मा नाम सिफारिस भएको यो तेस्रो पटक हो ।

० यो पटक पक्का सांसद हुनु होला त ?
– नभइञ्जेल भन्न सकिन्नँ, तर कानुनी आधार हेर्ने हो भने लगभग निश्चितजस्तै हो । महिलाको दोस्रो नम्बरमा मेरो नाम छ । ३३ प्रतिशत महिलाको अनिवार्य सहभागितालाई आधार मानेर मैले यसो भनेकी हुँ ।

० सांसद भएपछि के गर्नुहुन्छ ?
– पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु, मैले आफ्नो क्षेत्रमा हासिल गरेको विज्ञता उपयोग गर्छु, पार्टीले कल्पना गरेको समृद्ध समाज निर्माणमा योगदान दिनेछु ।

० त्यसका लागि त मन्त्री बन्नुपर्ला नि ?
– म जत्तिको योग्य व्यक्तिलाई पार्टीले मन्त्री बनाउँदा सबैलाई फाइदा नै हुन्छ भन्ने मलाई लाग्छ । मैले जुन क्षेत्रमा विज्ञता हासिल गरेकी छु, त्यसलाई राष्ट्र निर्माणमा उपयोग गरे भने त्यसले देश र जनतालाई मात्र फाइदा पुग्दैन, पार्टीप्रति सर्वसाधारणको जनविश्वास अझ बढेर जान्छ ।

० तपाईंलाई मन्त्री बनाउलान् त ?
– त्यो निर्णय गर्ने जिम्मा पार्टीको हो, तर योग्य व्यक्तिलाई अवसर दिइयो भने जनमतको कदर हुन्छ भन्ने मेरो भनाइ हो ।

० कुन मन्त्रालय रोज्नुभो ?
– मेरो अध्ययन र अनुसन्धान महिला र बालबालिकासँग सम्बन्धित छ ।

० मन्त्री भए के गर्नुहुन्छ ?
– हिंसा प्रभावित महिलाका लागि सबै जिल्लामा सुरक्षित आवास गृह आवश्यक छ, हिंसा न्यूनीकरण कार्यान्वयन गरेर देखाउँछु । समाज परिवर्तनका लागि नयाँ काम गर्छु । व्यक्ति र पार्टीको नाम कमाउनलाई अरुभन्दा फरक काम गर्नुपर्छ भनेर मैले बुबासँग शिक्षा लिएको छु । इमान्दार र अनुशासनमा रहेर अरुभन्दा फरक काम गर्न मलाई कत्ति पनि डर लाग्दैन ।

० बुबासँग कस्तो शिक्षा लिनुभयो ?
– एउटा घटना सुनाउँछु– ०३९ सालमा म कक्षा ९ मा पढ्थें । एउटा घटनामा मलाई प्रहरीले घरबाटै पक्रेर लैजाने भयो । बुबाले मलाई गाली गर्नुहुन्छ भन्ने ठानेको थिएँ, तर उल्टै नडराउ छोरी नाम कमाउनलाई नयाँ काम गर्नुपर्छ भनेर पे्ररित गर्नुभयो । त्यस घटनापछि म जहिले पनि अरुभन्दा पृथक् काम गर्न रुचाउन थालेकी हुँ ।

० विवाह कहिले गर्नुभयो ?
– ०५२ सालमा मागी विवाह गरेकी हुँ ।

० लाहुरे माग्न आएनन् ?
– खै, त्यस्तो चाहना राखिएन । नेपाली राजनीतिमै भिज्ने चाहना थियो, जे चाहना थियो, त्यही भयो ।

० विवाह कसरी सम्भव भयो ?
– कलेज पढ्दै थिएँ, उहाँ गाविस अध्यक्ष हुनुहुन्थ्यो । राजनीतिक विचार मिलेपछि आफन्त इष्टमित्रमार्फत हाम्रो विवाह भएको हो ।

० विवाहपछिको दिन ?
– एउटा सर्तमा विवाह गरेकी थिएँ, राजनीति गर्ने स्वतन्त्रता र अध्ययनलाई अवसर दिनुपर्छ भन्ने थियो । त्यही हिसाबले पढाइ पनि पूरा गरें, राजनीतिलाई पनि अहिलेको उचाइमा पु¥याएकी छु ।

० छोराछोरी ?
– दुईवटा छोरा छन्, उनीहरू दुवै इन्जिनियरिङका विद्यार्थी हुन् । ठूलोको पढाइ अन्तिमतिर पुगेको छ, सानोले सुरु गर्दैछ ।

० आमाले भनेजस्तै भए छोराहरू ?
– सानोलाई डाक्टर बनाउने सोच थियो, तर उसले पनि इन्जिनियर नै बन्ने इच्छा राख्यो । अध्ययनका लागि मेरोभन्दा पनि उनीहरूको इच्छा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ ।

० विदेश पढाउने सोच राख्नुभएन ?
– सानोले एकपटक इच्छा राखेको थियो, पछि फेरि नेपालमै अध्ययन पूरा गर्छु भन्न थाल्यो । उसको इच्छाले मलाई अझ खुसी बनायो ।