१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ।

आरजुको बुधबार हाइपर प्याराथाइरोएडिजमको शल्यक्रिया गरिएको जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए ।

गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। तर नेपालस्थित केहि अनलाइन मिडियाले भागेर भारत लुक्न गएको भन्ने हल्ला फैलाएको प्रति गुरुङले आपत्ति जनाए । गुरुङले राणाको व्यक्तिगत जीवनमा पटक पटकमा मिडियाले प्रवेश गरेर दुःख दिएकोप्रति चिन्ता गरे ।

आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार हाइपर प्याराथाइरोएडिजम भनेको घाँटीमा रहेको प्याराथाइरोएड ग्रन्थी अत्यधिक सक्रिय हुनु हो। थाइरोएड ग्रन्थीको छेवैमा चामलको गेडा जत्रो आकारका चार प्याराथाइरोएड ग्रन्थीहरू हुन्छन्।

ती चारमध्ये कुनै वा सबै ग्रन्थीहरू अत्यधिक सक्रिय भए भने बढी प्याराथाइरोएड हर्मोन बनाउँछन्। यसरी शरीरमा बढी प्याराथाइरोएड हर्मोन हुने रोगलाई हाइपर प्याराथाइरोएडिजम भनिन्छ।

प्याराथाइरोएड हर्मोनले चाहिएको बेलामा रगतमा क्याल्सियमको मात्रा बढाउँछ। हाइपर प्याराथाइरोएडिजम भयो भने जतिबेलै पनि रगतमा क्याल्सियम चाहियो भनेर शरीरले हड्डीबाट क्याल्सियम निकालेर रगतमा पठाउँछ।

यसले शरीरका सबै ठाउँका हड्डी विस्तारै खिइँदै गएर कमजोर हुन्छन् भने रगतमा क्याल्सियम बढी भएर किड्नीमा पत्थर लगायत शरीरमा अरू विभिन्न समस्या देखा पर्छन्।

आरजु राणाको सचिवालयले जारी गरेको विज्ञप्तिले हाइपर प्याराथाइरोएडिजमको शल्यक्रिया गरिएको बाहेक अरू केही नखुलाएकाले यी समस्याका कारण आरजुको शल्यक्रिया गरिएको बुझ्नु पर्नेहुन्छ।

प्याराथाइरोएड डटकमका अनुसार यो शल्यक्रिया गर्दा समस्या देखिएका एक वा बढी प्याराथाइरोएड ग्रन्थी झिकेर फ्याँकिन्छ।