१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रबीना थापालाई एनआरएनएमा उम्मेदवार बन्न रोक्ने प्रयास जारी

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७८, बुधबार ०८:२०


लण्डन। विदेशस्थित नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाली जनसम्पर्क समितिका अध्यक्षहरुको एक भेलाले २०२१–२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षमा संघका सल्लाहकार कुल आचार्यलाई सघाउन संघकी उपाध्यक्ष रबीना थापालाई आग्रह गरेका छन्।

भर्चुएल माध्यमबाट भएको बैठकका सहभागीहरुले संसारभरि रहेका प्रजातन्त्रवादी तथा प्रगतिशीलहरुको साझा उम्मेदवारको रुपमा कुल आचार्यलाई सहयोग गर्ने निर्णय भैसकेकाले आचार्यलाई खुलेर सघाउन थापालाइ अनुरोध गरेका थिए। थापाले साथीहरुसंग सरसल्लाह गरेर मात्रै आफु अगाडी बढ्ने बताउंदै जनसम्पर्क समितिका पदाधिकारीहरुको सुझावलाई आफुले सम्मान गर्ने बताइन्।

यस अघि ३५ देशमा रहेका जनसम्पर्क समितिका पदाधिकारीहरुले एनआरएनएलाई अपारदर्शी ढंगले चलाउने, एनसीसीहरुलाई अनावश्यक दबाब दिने, डेलिगेट्स छनोट प्रक्रियामा एकलौटी गर्ने, एमआइएस सिस्टमलाई दुरुपयोग गर्ने कामहरु भै रहेको भन्दै गम्भीर छलफल गरेका थिए ।

एनआरएन जापान, चिली, बेल्जियम लगायतका मुलुकहरुमा भर्खरै सम्पन्न चुनावमा एमआइएस सिस्टमको व्यापक दुरुपयोग गरी सदस्यहरुको नाम, इमेल लगायत व्यक्तिगत विवरण दुरुपयोग गरिएको वास्तविकता बुझ्न एनआरएन केन्द्रले तत्काल छानबिन गर्नु पर्ने पनि बैठकले माग गरेको थियो ।

बैठकले संघमा भैरहेको अनियमतितालाई रोकी सबै प्रवासी नेपालीहरु अटाउने साझा संगठनको निर्माण गर्न पहल गर्ने निर्णय पनि गरेको छ।

जनसम्पर्क समिति, भारतका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेले संयोजन गरेको बैठकमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट, दिल गुरुङ (जर्मनी), नरेन्द्र भाट (कतार), बिष्णु सुवेदी (अमेरिका), डा यादव पण्डित (अमेरिका), रोशन केसी (जापान) लगायतको उपस्थिति थियो।