१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन अक्टोवर दोस्रो साता गर्ने तयारी

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७८, शुक्रबार ०७:३५


फेस भेरिफेकेशन अनिवार्य

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि हुने निर्वाचन आगामी अक्टोवरको दोस्रो साता गर्ने तयारी भएको छ ।
निर्वाचन समितिका सदस्यसचिव भूषण घिमिरेका अनुसार कार्यसमितिले तोकिएको समयसीमाभित्र मतदाता नामावली समितिलाई उपलब्ध गराएपछि मात्र निर्वाचन मिति औपचारिक रुपमा घोषणा हुनेछ ।

मतदानका बेला फेस भेरिफिकेशन (अनुहार प्रमाणीकरण) सुरक्षा प्रणाली अपनाइने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको व्यवस्थापनका लागि अष्टे«लिया र स्पेनको कम्पनीले टेन्डर हालेका छन् । निर्वाचन समितिका अनुसार ती दुई कम्पनी मध्ये एकलाई छनोट गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिको लामो प्रयासपछि मात्र ती कम्पनीले मतदाताको फेसभेरिफिकेशन प्रणाली लागू गर्न राजी भएका हुन् । निर्वाचन समितिले अनलाइन मतदानका लागि मतदाताहरुलाई सयममा आफ्नो फेस भेरिफिकेशन गर्न प्रष्ट देखिने सेल्फी अनिवार्य रुपमा पठाउन आग्रह गरेको छ ।

अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ ।

यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिहरुको विवाद अन्त्य गर्दै मतदाता नामावली निर्वाचन समिति समक्ष पेश गर्ने तयारी भएको बुझिएको छ । संघका अनुसार प्रतिनिधि विवाद रहेका अष्ट्रेलिया, अमेरिका, यूकेलगायतका देशमा सहमतिको प्रयास जारी रहेकाले अन्तिम मतदाता नामावली टुंगो लाग्न समय लागेको हो । निर्वाचन समितिले एक पत्र लेख्दै मतदाता नामावली उपलब्ध गराउन संघसँग आग्रह गरेको छ ।