१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूरोप संयोजकमा त्रिपक्षीय भिडन्त

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७८, शुक्रबार ०७:४९

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय संयोजकमा तीन जनाले दावी प्रस्तुत गरेका छन् । संघको अक्टोवरमा हुने १० औं महाधिवेशनको लागि संघका वर्तमान क्षेत्रीय सहसंयोजकद्वय कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र केन्द्रीय सदस्य चिन्तामणी सापकोटालेले संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धादिङ नीलकण्ठ नगरपालिका स्थायी घर भएका तिमल्सिना २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आबद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–१७) , सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिकोसमेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

तिमल्सिनालाई संघको वर्तमान संस्थापन पक्षको सहयोग रहेको छ । सन् २००४ देखि आयरल्याण्डमा बसोबास गर्दै आएका शुक्रराज न्यौपाने गैरआवासीय नेपाली संघमा २००७ देखि नै संस्थापक सदस्यका रूपमा समाजमा जोडिएर आफ्ना गतिविधि गर्दै आइरहेका छन् ।

जन्मथलो पोखराको पर्यटकीय क्षेत्र लेकसाइड भएका न्यौपानेले २००९ देखि २०११ सम्म एक कार्यकाल आयरल्याण्डको एनसीसीको अध्यक्ष बनेर आफ्नो क्षमता आयरल्याण्डका नेपाली समुदायबीच परिचित गराएका थिए । न्यौपानेले संघको अध्यक्ष पदको लागि उम्मेदवार रविना थापाको प्यानलबाट निर्वाचनमा जाने तयारी गरेका छन् ।

यस्तै सन् २००७ देखि संस्थापक सदस्यका रुपमा प्रवेश गरेका चिन्तामणी सापकोटाले संघको संस्थापकले अघि सारेका पुर्नसंरचनाका अजेण्डाका चर्को आलोचक हुन् । सापकोटा एनआरएनए स्पेनको संस्थापक सदस्य हुन भने हाल आईसीसी सदस्य रहेका छन् । उनी अध्यक्षका प्रत्यासी कुल आचार्यको समूहबाट उम्मेदवार बन्न लागेको बताएको छ ।

संघको निर्वाचन अक्टोवर दोस्रो साता हुदैछ ।