September 19, 2021
12:11 AM | 4:56 AM
डायस्पोरा

कांग्रेस अधिवेशन : जाजरकोटका ७७ वटै वडामा निर्विरोध नेतृत्व

  07/09/2021 मा प्रकाशित

जाजरकोट । नेपाली कांग्रेस जाजरकोट वडा तहमा निर्विरोध नेतृत्व चयन गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणमा जिल्लाका ७७ वटै वडामा निर्विरोध रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेस जाजरकोटका सभापति दिपकजंग शाहका अनुसार जाजरकोटमा ७७ वडा सभापतिसहित प्रति वडा १६ जनाका दरले १ हजार ३०९ क्षेत्रीय प्रतिनिधि छानिएका हुन् । वडा समितिमा २८ जनाका दरले ७७ वडाबाट २ हजार १५६ जना पदाधिकारी तथा सदस्य चयन भएका छन् ।

क्षेत्रीय प्रतिनिधिले पालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि, संघीय महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि चुनाव लड्ने पाउँछन् । जिल्लामा २७ भदौमा गाउँ, नगर, १ असोजमा प्रदेशसभा क्षेत्र र ५ असोजमा जिल्ला अधिवेशन हुँदैछ ।

जिल्ला सभापतिमा चार जना आकांक्षी
जिल्ला सभापतिमा चार जनाले आकांक्षा देखाएका छन् । संस्थापन पक्षबाट हालका उपसभापति सर्पराज रावत एक्ला उम्मेदवार देखिएका छन् उनलाई पूर्वसांसद राजिवविक्रम शाहसहितले सर्मथन गरेका छन् ।

संस्थापनइतर समूहबाट वेदराज सिंह, मुक्तिप्रसाद आचार्य र इलमबहादुर शाहीले आकांक्षा देखाएका छन् । जिल्ला सभापति शाह संस्थापनइतर समूहबाट एक जना मात्र उम्मेदवार बनाएर चुनाव लडाउने पक्षमा छन् ।

प्रतिक्रिया