८ बैशाख २०८१, शनिबार
Follow Us

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७८, मंगलवार १४:०९

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने भएको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको छ । लिगको लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता समेत गरेको छ ।

सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले व्यहोर्नेछ । पहिलो संस्करणको प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखिएको एनएसएलले जनाएको छ ।

दोस्रो संस्करणबाट होम एण्ड अवेको आधारमा विभिन्न शहरमा खेलाईने बताईएको छ । सम्झौतापछि एनएसएलका अध्यक्ष चौधरीले भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने बताईन् । महिला र पुरुष भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भलिवल लिगबाट राष्ट्रिय टिममा समावेश हुनका लागि मौका हुने बताए । उनले खेललाई व्यवसायीक रुपमा लैजान लिगले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो । एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो ।